सेती लोकमार्ग द्रुत गतिमा निर्माण गर्न माग

  २०८० चैत १६ गते ८:५०     विकासन्युज


बाजुरा । बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण गर्न माग गरेको छ । सभाले प्रदेश र संघ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो ।

धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि तीन जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए ।

बिहीबार जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा छैटौँ जिल्ला सभाबाट लोकमार्ग निर्माणमा ढिलासुस्ती भइरहेकाले त्यसलाई अविलम्ब रोकेर निर्माणलाई तीव्रता दिन प्रदेश र संघ सरकारसँग माग गर्ने निर्णय भएको उनले बताए । उहाँले सुस्त गतिमा निर्माण भइरहेको सेती लोकमार्गको कामलाई गतिदिन सम्बन्धित निकायसँग समन्वय गरिने बताए ।

जिल्ला सभाले स्थानीय तहहरूको समन्वय र सहयोगमा अधुरा आयोजनाको विवरण संकलन गरी तिनलाई पूरा गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए ।

जिल्ला सभाले सुदूरपश्चिम प्रदेशको गौरवको सडकका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डको स्तरोन्नति गरी नियमित बस सेवा सञ्चालनका लागि पहल गर्ने, प्रदेश निर्वाचन क्षेत्र (क) कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, जिल्लामा उत्पादन रैथाने बालीको प्रवर्द्धनका गरी बजारसम्म पुर्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायत निकायसँग समन्वय गर्ने निर्णय गरेको छ ।

साथै, जिल्लाका नौ वटै पालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.