अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन, औषधीको झुटा प्रचार

  २०८० चैत १४ गते १६:१३     विकासन्युज

काठमाडौं । औषधी व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्री-वितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए ।

अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधी गैरकानुनी रूपमा बिक्री गरिएको महानिर्देशक ढकालले बताए । अनलाइन फार्मेसीका नाममा औषधीको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री गरिएको उनले बताए ।

औषधी ऐन, २०३५ को दफा १९ बमोजिम औषधीको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । ‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधीको विज्ञापन गर्नुपूर्व औऔषधी ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनपर्ने स्पष्ट कानुनी व्यवस्था छ,’ महानिर्देशक ढकालले भने ।

अनलाइन फार्मेसीबाट बिक्री गरिएका औषधीको सुरक्षितता, गुणस्तरियता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधी खरिद गरी सेवन नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ ।  अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.