‘आधुनिक हतियार’को अनुसन्धान दायरामा दुर्गा प्रसाईं

  २०८० चैत १४ गते १७:०४     नारायण अर्याल

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर आदेश दिएपछि त्राण पाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं व्यक्तिगत सुरक्षाको नाममा लाइसेन्स लिएर बोकेको आधुनिक हतियारको अनुसन्धानकाे दायरामा आएका छन् । अहिले प्रसाईंले बोकेको हतियारको विषयलाई लिएर अनुसन्धान भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रसाईंले बोकेको हतियारको विषयमा सांसदहरुले प्रश्न उठाएपछि गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकले जवाफ दिँदै सो हतियारको विषयमा थप अनुसन्धान भइरहेको बताएका हुन् ।

समितिको बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठले प्रसाईंले बोकेको आधुनिक हतियार व्यक्तिगत सुरक्षा प्रयोजनका लागि बोक्न पाइने हतियार हो ? भनेर गृहमन्त्री सहितका अधिकारीलाई प्रश्न गरेका थिए । साथै उनीहरुले सो हतियार बोक्न पाइने कानुनी व्यवस्था र अहिले नेपालमा त्यस्ता कति हतियार छन् भनेर तथ्याङ्क माग गरेका थिए ।

सांसदहरुको प्रश्नमा गृहमन्त्री लामिछानेले दुर्गा प्रसाईंले बोकेको हतियार प्रारम्भिक रुपमा हेर्दा एउटाको नाममा भएको र अर्कोले बोकेको पाइएकोले थप अनुसन्धान भइरहेको बताए । ‘दुर्गा प्रसाईंले बोकेको हतियारको सन्दर्भमा कानुनले दिएको अधिकार भन्दा बाहिर देखिन्छ, हतियार एकजनाको नाममा र चलाउने व्यक्ति अर्कै भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, उनले भने ।

त्यस्तै, गृहसचिव एकनारायण अर्यालले प्रसाईंले बोकेको हतियार व्यक्तिगत सुरक्षा प्रयोजनका लागि बोक्न नपाइने र घरको कम्पाउन्डबाहिर निकाल्न नपाइने बताए । प्रसाईंले बोकेको हतियार झापा जिल्लाबाट नवीकरण भएको तर जारी अन्यत्रैबाट भएको उनकाे भनाइ छ ।

सांसद कृष्णगोपाल श्रेष्ठले ‘त्यो हतियार व्यक्तिगत सुरक्षाका लागि बोक्न मिल्छ ?’ भनेर प्रतिप्रश्न गर्दा सचिव अर्यालले ‘पाईंदैन’ भन्ने जवाफ दिए ।

प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षा गार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी-५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश पनि दिइसकेका छन् ।

प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले चैत १२ गते मात्रै चिकित्सा शिक्षा आयोगको नाममा आदेश जारी गरेको थियो ।

हातहतियार खरखजाना ऐन-२०१९ (संशोधित २०७४)मा व्यक्तिले पनि इजाजत लिएर हतियार बोक्न पाइने व्यवस्था छ । तर, गृहमन्त्री र अर्थसचिवको भनाइअनुसार प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियार शंकास्पद देखिएको छ । गृहसचिवले त्यो स्तरको हतियार नेपालको कानूनअनुसार व्यक्तिगत सुरक्षाको लागि बोक्न नपाइने देखि घरको कम्पाउन्डभित्रै राख्नुपर्ने स्तरको भनेर सांसदहरुलाई जवाफ दिएपछि सो हतियारको लाइसेन्स र आयात अनुमति सम्मको विषय अनुसन्धानमा तानिने देखिएको छ । जसले गर्दा व्यवसायी प्रसाईं थप विवादमा तानिन सक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.