अर्थमा सहसचिवहरूको व्यापक सरूवा, बजेट प्रमुखमा शाक्य, राजस्व विभागमा बराल

  २०८० चैत १४ गते १५:४५     विकासन्युज

काठमाडौं । बजेट निर्माणको तयारीमा रहेका बेला अर्थमन्त्रालयका सहसचिवहरूको जिम्मेवारीमा व्यापक फेरवदल गरिएको छ । बजेट निर्माणका विभिन्न काममा जुट्नुपर्ने बेला अर्थमन्त्रालयका महत्वपूर्ण मानिएका तीन वटा महाशाखाका सहसचिवहरूको सरूवा गरिएको हो ।

अर्थमन्त्री वर्षमान पुनले सहसचिव रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन् । यसअघि उनी मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए ।

यसअघि बजेट महाशाखाका प्रमुख उत्तर कुमार खत्रीलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरूवा गरेर पठाइएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका अनुगमन मूल्याङ्कन महाशाखाका धनीराम शार्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा सरूवा गरिएको छ ।

यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई सरूवा गरेर पठाइएको छ भने भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ ।

यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बराललाई वातावरण विभागमा र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरूवा गरिएको छ। तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ ।

राजनीतिक सम्बन्ध तथा निकटका आधारमा विगतका सरकारहरूले पनि गर्दै आएको अभ्यास अनुसार अर्थमन्त्री पुनले सहसचिवको सरूवा गरेको देखिएको छ । भन्सार विभाग, आन्तरिक राजस्व विभाग र मन्त्रालयको बजेट महाशाखामा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू निकटका व्यक्तिहरूलाई सेट गरेर नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने सुरसार गरेका थिए । सोही मुख्य जिम्मेवारीहरुमा अर्थमन्त्री पुनले आफ्ना निकटस्थहरुलाई ल्याएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.