द्विपक्षीय लगानी सम्झौतामा कतारी राजदूतको चासो, व्यापार प्रवर्द्धनलाई प्रोत्साहन गर्ने

  २०८० चैत १२ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

ढकालले सोमबार नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए । सो भेटवाता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो ।

भेटमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए ।

महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद स्थापना गर्ने योजनाको छलफल पनि भएको थियो । संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एकअर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, मिसाल बिन मोहम्मद अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरे। उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए । दुवै पक्षले सम्भावित फाइदाहरूबारे छलफल गरे र थप कदमहरू खोज्न सहमत भए ।

अन्त्यमा दुवै पक्षले आर्थिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहोराए । महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरहरूको विषयमा वार्ता जारी राख्ने समेत प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.