चैतभित्र विद्यालयमा पुस्तक पुर्‍याउन मन्त्रालयको निर्देशन

  २०८० चैत ७ गते १६:४०     विकासन्युज

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ ।

कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले वि.सं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरुप गर्न निर्देशन दिइएको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरु गरिसकेको जानकारी दिए । मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको उनले बताए ।

छपाइ सकिएका पुस्तकहरु उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले बताए । उनले मन्त्रालयको निर्देशन कार्यान्वयन हुने, पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकामा ढुवानी गरिने बताए ।

पहिलो चरणमा हिमाली, दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरुमा पुस्तक पुर्‍याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले जानकारी दिए । उनले मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरुमा पुस्तक पुर्याउने गरी केन्द्रले काम गरिरहेको बताए ।

मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानीलगायत कामको प्रगति विवरण दैनिक रुपमा साँझ ७ बजे भित्र मन्त्रालयमा पेस गर्न पनि केन्द्रलाई निर्देशन दिएको छ ।

यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी थिइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.