भकुण्डे–तेमाल सडक : २० महिनामा १० प्रतिशत काम

  २०८० चैत ७ गते ७:५५     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको छ ।

नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको करिब २५ किमी सडक स्तरोन्नति एवं पक्की गर्न ललितपुरको केएस देवी रमण, तेजजुको लापरवाहीका कारण समयमै काम नसकिने देखिएको हो । उक्त आयोजनाका लागि रु २० करोड ८९ हजार बजेट विनियोजन भएको थियो । हालसम्म सडक किनारका केही स्थानमा पर्खाल निर्माण गरिएको छ ।

ठेकेदार कम्पनीलाई चाँडो काम गर्न पटकपटक ताकेता गर्दा बेवास्ता गरेका कारण आयोजना लथालिङ्ग अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । ‘आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणकार्यले गति नलिँदा यस्तो अवस्था आयो,’ उनले भने ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटोमा हिँड्नुपर्ने बाध्यताका कारण ठेकेदारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका छन् । उनीहरूले सम्बन्धित निकायले निरन्तर अनुगमन नगरेकामा आपत्ति जनाएका छन् । साथै स्तरोन्नति थालिएको उक्त सडकको अनुगमन गरी काम शीघ्र सम्पन्न गराउन उनीहरूले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.