संघ र प्रदेश सरकारले बजेट नदिँदा पनि आफ्नै खुट्टामा उभिने स्थानीय सरकार बनाउछौं- खेलराज पाण्डेय

  २०८० चैत ६ गते ११:४०     विकासन्युज

देशभरीका २९३ वटा नगरहरूमध्ये आर्थिक वर्ष ०७९/८० मा आर्थिक विकास सूचकांकमा बुटवल उपमहानगरपालिका उत्कृष्ट बन्न सफल भएको भन्दै नगरपालिका संघले सम्मान गरेको  छ । खेलराज पाण्डेय प्रमुखमा निर्वाचित भएको पहिलो वर्षको कार्यसम्पादनमा नै उपमहानगर आर्थिक विकासको सूचकांकमा पहिलो भएको हो । पछिल्लो तीन दशक यता तीव्र सहरीकरणको दिशामा अगाडि बढेको बुटवल उपमहानगरले आर्थिक विकासको क्षेत्रमा कसरी काम गरिरहेको छ भन्ने सन्दर्भमा प्रमुख पाण्डेयसँग विकासन्युजका लागि नारायण अर्यालले कुराकानी गरेका छन् ।

देशकै आर्थिक विकासमा बुटवल उपमहानगर उत्कृष्ट बन्न सफल भयो । देशैभरका सबै नगरपालिकालाई उछिन्ने गरी त्यस्ता के काम भएका छन् ?

आर्थिक विकासको लागि आर्थिक अनुशासन कायम गर्नुपर्ने पहिलो विषय हुन्छ । बजेटको सिलिङ, त्यसको मापदण्ड, त्यसको नियमितता, खर्चमा आन्तरिक सुधार र व्यवस्थापन लगायतका विषयहरु पनि पर्छन् । हामीले सुशासन र आर्थिक अनुसाशनलाई प्राथमिकतामा राखेर काम गरेका छौं । साथै हामीले आर्थिक अनुसाशन र वित्तीय अनुशासनको दायराभित्र रहेर काम गरेका कारणले उपमहानगरले उत्कृष्ट नगर पुरस्कार प्राप्त गर्न सफल भएको हो भन्ने हाम्रो बुझाइ हो । बाहिर देखिने कामहरूको सन्दर्भमा कुरा गर्दा हामीले सानो इकाईलाई पनि सम्बोधन गरेर काम गर्ने प्रयत्न गरेका छौं । सालको पातको टपरी गाँस्ने आमा, दिदी बहिनीदेखि मकै पोल्नेलाई पनि लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका छौं । त्यस्तै, गृहिणीलाई रोजगार भनेर सीप र आर्थिक क्रियाकलापसँग जोड्ने बृहत्तर कार्यक्रम सञ्चालन गरेका छौं ।

महिला उद्यमशीलता, युवा लक्षित इलम कार्यक्रम, बाआमासँग नगर कार्यक्रम लगायतका कार्यक्रमहरू जुन आर्थिक क्षेत्रसँग जोडिनेगरी भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लैजानेगरी सामाजिक कार्यक्रमहरू सञ्चालन गरेका छौं । हामीले भौतिक विकासको बजेट र मानवीय संसाधन विकासको बजेटलाई झण्डै-झण्डै उस्तै अंकमा राखेर अगाडि बढाएका छौं । त्यस्तै, लक्षित वर्गको बजेट पनि अन्यत्र नजानेगरी कार्यान्वयन हुनेगरी बजेट सिलिङ ल्याएर कार्यान्वयन गरेका कारणले पनि बुटवल उत्कृष्ट नगर भएको हो भन्ने हामीलाई लागेको छ ।

कुनै पनि नतिजा निकाल्नको लागि पहिलो विषय भनेको उद्देश्यको निर्माण हुन्छ । यो पाटोमा कसरी कामको सुरुवात गर्नुभएको छ ? आर्थिक विकासको क्षेत्रमा अल्पकालीन र दीर्घकालीन विषय के-के निर्धारण गर्नुभएको छ ?

भौतिक विकास जत्तिकै मानवीय विकासपनि सँगसँगै लैजानुपर्छ भन्नेमा हामी प्रस्ट छौं । त्यसैले हामीले नगरको कार्यक्रममा शिक्षालाई पहिलो र स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेका छौं । बुटवलमा वर्षेनी १५ हजार विद्यार्थी भवनको समस्याका कारण सरकारी विद्यालयमा भर्ना नपाएर अन्यत्र पढ्न परेको अवस्था छ । हामीले यो सम्बन्धमा प्रधानमन्त्रीलाई पनि जानकारी गराएका छौं । भवनहरू निर्माण गर्न सकेमा हामीले दरबन्दी र अन्य प्राविधिक आवश्यकताहरूको पनि व्यवस्थापन गर्न सक्छौं । तर, यसको सुनुवाई हुन सकिरहेको छैन । यसकै बीचमा पनि विद्यालयमा सीप सहितको शिक्षा र संस्कारसहितको शिक्षालाई हामीले अगाडि बढाउने कोसिस गरेका छौं । स्वास्थ्य उपचारको क्षेत्रमा १६ जिल्लाका बिमारी उपचार गर्न आउने ठाउँ बुटवल हो । यो क्षेत्रमा पनि हामीले उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हिसाबले निकै प्रयास गरेका छौं । हामीले आर्थिक विकासको क्षेत्रमा जे जति कामहरू गर्ने गर्छौं यी कामहरू बुटवलको लागि मात्रै नभएर अन्य जिल्लाका मानिसहरूका लागि समेत भएकाले केन्द्र सरकारले पनि यो विषयमा विशेष ध्यान दिन आवश्यक छ भन्ने हाम्रो भनाइ छ ।

उत्कृष्ट नगरपालिका बन्नको लागि योजना तर्जुमा महत्वपूर्ण हुन्छ । सो विषयमा पालिकाले कसरी काम गरेको छ ? जनसहभागिता र दलीय सहभागितालाई कसरी समेटनुभएको छ ?

बुटवलले सार्वजनिक निजी साझेदारी मोडेलमा विश्वास गर्दै आएको छ । हामीले टोलको सरसफाइदेखि सडक निर्माण, भौतिक निर्माणका कामहरू ६० प्रतिशत नगरपालिकाको सहभागिता र ४० प्रतिशत जनताको सहभागितामा गर्ने अभ्यास गर्दै आएका छौं । पालिकाले सञ्चालन गर्दै आएका धेरैजसो कार्यक्रमहरू जनसहभागितामा नै आधारित रहेका छन् । त्यसैले, जनताको सहभागिता, संघ संस्थाको सहभागिता र राजनीतिक दलको परामर्श साथै संघीय सरकारसँग लचिलो सम्बन्ध राखेर हामीले काम गर्दै आएका छौं । हामीले प्रचारात्मक विषयलाई कम र दीगो कायम रहनसक्ने विषयलाई प्राथमिकता दिने प्रयास पनि गरेका छौं ।

बुटवल केही विषयहरूमा नमूना पनि बन्दै गएको छ, अटो भिलेज बनेको छ, कृषि व्यावसायिक केन्द्र छ, टेक्निकल इन्स्टिच्युट छ, सीटीईभीटी भन्दा पुरानो इन्स्टिच्युट बीटीआई छ, महिला र बालबालिकाको लागि अस्पताल छ, सरकारी तथा निजी कलेजहरु छन् । त्यसैले हामीले आन्तरिक व्यवस्थापनलाई बढी महत्व दिएका छौं । बुटवल देशभरीकै सबैभन्दा ठूलो आर्थिक केन्द्र कसरी बन्न सक्छ, व्यापारिक क्षेत्रमा कसरी ठूलो हुनसक्छ ? नयाँ औद्योगिक क्षेत्रको स्थापना कसरी गर्ने भन्ने लगायतका दिगो विकासको विषयमा हामीले काम गरेका छौं । उपमहानगर बुटवलको समृद्धिको दिशामा काम गरिरहेको छ भन्ने विषयमा जनस्तरमा विश्वास जगाउने प्रयत्न पनि हाम्रोतर्फबाट भइरहेको छ ।

बजेटका स्रोतहरूलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? उपमहानगर आन्तरिक स्रोतमा कत्तिको व्यवस्थित हुँदै गएको छ ?

संघीय सरकारको तर्फबाट हामीले आंकलन गरेको मध्ये १० प्रतिशत पनि बजेट प्राप्त गर्न सकेका छैनौं । अहिलेसम्म हामीले आन्तरिक बजेट सतप्रतिशत नै खर्च गर्न सकेका छौं भने केन्द्रबाट प्राप्त भएको बजेट पनि ९८ प्रतिशत खर्च गरेका छौं । हामीले जनसहभागिता मोडेलबाट काम गरेका कारण केन्द्र सरकारले १० अर्ब दियो भने हामीले यहाँबाट ४ अर्ब स्रोत जुटाएर काम गर्ने ग्यारेन्टी मैले गर्न सक्छु । तर, हामीले त्यसरी आवश्यकताका आधारमा बजेट प्राप्त गर्ने व्यवस्था भएको छैन । हामीले अहिलेसम्म अपुग नै अपुगताका साथ काम गरिरहेका छौं । कुनैपनि क्षेत्रमा प्रशस्त बजेट भनेर काम गर्न पाएको अवस्था छैन ।

आयोजनाहरुमा जनताबाट नै ४० प्रतिशत सहभागिता जुटाउने विषय बताउनुभयो, त्यसको अभ्यास कसरी गर्नुभएको छ ?

हामीले जनस्तरमा नै समितिहरू गठन गर्ने गर्छौं र उहाँहरूलाई जिम्मेवारी दिने गरेका छौं । पुनर्निर्माण गर्दा १५ प्रतिशत र नयाँ निर्माणमा ४० प्रतिशत जनसहभागिताको अभ्यास गरेका छौं ।

व्यवस्थित नगर स्थापना गर्ने विषयलाई तपाईंले कसरी बुझ्नुभएको छ ? त्यसको अगाडि वर्तमान व्यवस्थामा देखिएका कानुनी, नीतिगत र व्यवहारिक चुनौती के कस्ता छन् ?

व्यवस्थित नगरमा मुख्यतः ३ वटा मूल मुद्दाहरू रहेका हुन्छन्, सरसफाई, हरियाली र उज्यालो । यी तीनवटा विषयहरु भएनन् भने नगर जतिसुकै ठूलो र भौतिक सम्पन्न भएपनि अर्थ रहँदैन । त्यसकारणले भौतिक सम्पन्नताको पाटोसँगै नगरलाई सुन्दर राख्नको लागि सरसफाइ पहिलो प्राथमिकता, हरियाली दोस्रो प्राथमिकता र उज्यालोलाई तेस्रो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यी विषयलाई हामीले प्राथमिकता दिएका छौं ।

त्यस्तैग, शिक्षा, स्वास्थ्य र रोजगारको विषय पनि व्यवस्थित सहरका विशेषता हुन् । यी सबै विषयमा हाम्रो प्राथमिकता सहितका कार्यक्रम छन् । हामीले संघीय व्यवस्थाअनुसार स्थानीय तहले अधिकार प्राप्त गरेको महसुस गरेका छैनौं । स्थानीय तहमा धेरै अधिकार छ भनेर प्रचार गरिएको छ । तर, स्थानीय तह आज पनि केन्द्र शासित भएको अवस्था छ । केन्द्र सरकारले अधिकार दिन कञ्जुस्याइँ गर्दै आएको छ । केन्द्रबाट एउटा कार्यकारी अधिकृत पठाएन भने यहाँ कर्मचारीलाई तलब खुवाउन समेत सकिँदैन भने विकास निर्माणका काम पनि हुँदैनन् । स्थानीय जनप्रतिनिधिहरुलाई एउटा अधिकृतमार्फत अंकुश लगाउने काम भएको छ भने स्थानीय सरकारलाई पेन्डुलम बनाउने काम भएको छ ।

साथै, केन्द्रबाट आएको कर्मचारीले अनावश्यक काम तथा गतिविधि गर्ने तर, स्थानीय जनप्रतिनिधिले अपजस लिनपर्ने अवस्था छ । केन्द्रबाट आउने जुन कर्मचारी हुन्छ, त्यसलाई स्थानीय तहले पाँच वर्षका लागि स्वनियुक्ती गर्न पाउने अवस्था हुनुपर्छ । अझ उपमहानगरको हकमा कार्यकारी अधिकृत सहसचिव हुने व्यवस्था भएकोमा सहसचिव आउनै नचाहने अवस्था पनि देखिएको छ । केन्द्रले २/२ महिनाको लागि उपसचिव पठाउने गरेको छ, हामी २/२ महिनामा झोला बोकेर कर्मचारी ल्याउनका लागि सिंहदरबार धाइराख्नुपर्ने अवस्था बनेको छ । एउटा कर्मचारी ल्याउन २/२ महिनामा सिंहदरबार धाउन पर्दा धिक्कार लागेर पनि आउँछ । त्यसकारण हामीले राज्यसँग बिद्रोह गर्नु पर्ने स्थिति आएको छ । संविधानअनुसार स्थानीय सरकारको अधिकार खोई ? एउटा कर्मचारी नियुक्ति गर्ने विषयमा स्थानीय सरकारलाई किन विश्वास गर्न सकिएको छैन ? यो अधिकार दिन किन संघीय सरकारले खोजिरहेको छैन अथवा राजनीतिक दलहरुले खोजिरहेका छैनन् ? बुटवलको तर्फबाट अब हामीले यो मुद्दा उठाउँछौं ।

तपाईंको कार्यकालको पहिलो वर्षमा पालिका आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट बन्न सफल भयो ? कार्यकाल सकिने बेलासम्मको अवस्था कस्तो हुन्छ होला ?

हाम्रो चाहना संघीय सरकार र प्रदेश सरकारले बजेट नदिँदापनि आफ्नै खुट्टामा उभिन सक्ने स्थानीय सरकार बन्न सकोस् भन्ने चाहना छ । साथै, आर्थिक सुशासन र नियमितताका कारणले आफ्नै खुट्टामा उभिएर आफ्नो क्षेत्रको विकास गर्नसक्ने स्थानीय सरकार बनाउन चाहन्छौं । तर, जमिनबाट उठेको राजस्व र वन क्षेत्रबाट उठेको राजस्वको हिस्सा संघीय सरकारमा मात्रै जाने गरेको छ । त्यसमा हामीले कत्ति पनि अंश प्राप्त गर्ने गरेका छैनौं । यी राजस्व स्थानीय सरकारसँग जोडिनुपर्छ । स्थानीय सरकारका विकासका आफ्ना-आफ्ना मोडेलहरू हुन्छन्, बुटवलको सन्दर्भमा बुटवल बर्दघाटदेखि चनौटासम्मको क्षेत्रलाई मेगा सिटीका रूपमा रुपान्तरण गर्ने र समृद्ध बुटवल निर्माण गर्नेगरी हामी अगाडि बढ्न चाहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.