चीनको सम्पत्ति विकास लगानी दुई महिनामा ९ प्रतिशतले गिरावट

  २०८० चैत ५ गते १६:१५     विकासन्युज

चीन । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा ९ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर) भएको राष्ट्रिय तथ्याङ्क विभाग (एनबिएस) ले सोमबार बताएको छ ।

यसै अवधिमा नवनिर्मित सम्पत्तिको बिक्री पनि वार्षिकरूपमा २० दशमलव पाँच प्रतिशतले घटेर ११ करोड ३६ लाख ९० हजार वर्गमिटरमा आएकाले यस क्षेत्रमा लगानीमा घट्ने प्रवृत्ति कायम रहेको छ ।

मूल्यको हिसाबले वार्षिकरूपमा नवनिर्मित सम्पत्तिको बिक्री २९ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ६० करोड युआनमा झरेको तथ्याङ्कले देखाएको छ ।

यस वर्षको पहिलो दुई महिनामा देखिएको गिरावट सन् २०२३ को सोही अवधिमा नौ दशमलव छ प्रतिशतको गिरावटको तुलनामा शून्य दशमलव छ प्रतिशतले कम भएको एनबिएसका प्रवक्ता लिउ आइहुवाले पत्रकार सम्मेलनमा बताए ।

सम्पत्ति बिक्री र घरको मूल्य दुवैको तथ्याङ्कका आधारमा चीनको सम्पत्ति बजार अझै समायोजन र रूपान्तरणको प्रक्रियामा रहेको उनले बताए ।

नयाँ सहरीकरणको विकास प्रवृत्ति र रियल इस्टेट बजारमा आपूर्ति र मागमा आएको परिवर्तनलाई अपनाएर चीनले घरजग्गाका लागि नयाँ विकास मोडेललाई बढावा दिने उनको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.