सिड्नीबाट उडेको विमानमा एक्कासि कम्पन, १२ जना यात्रु बिरामी

  २०८० फागुन २८ गते १८:५८     विकासन्युज

अष्ट्रेलिया । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा बिरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आउँदा कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाई एक्कासी गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए ।

प्रत्यक्षदर्शी यात्रुले रेडियो नेटवर्क आरएनजेडसँग भने, ‘सिटबेल्ट नलगाएका कारण मानिसहरू सीटमा उफ्रिएका थिए ।’

आवाज थरथर काँपिरहेको अवस्थामा उनले भने, ‘केही मानिस गम्भीर घाइते भएका छन् । यात्रुहरू पनि साँच्चै डराएका थिए ।’

चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताएका छन् ।

‘विमान अकल्याण्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,’ उनले भने । तर घटनाको कारण भने खुल्न सकेको छैन ।

सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्याण्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताए । घाइतेको उपचारका लागि एक दर्जनभन्दा बढी एम्बुलेन्स र अन्य मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो ।

क्याम्पबेलले भने, ‘हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यम देखि सामान्य अवस्थामा थिए ।’

बिरामी सबै जनालाई अस्पताल पुर्याइएको उनले बताए ।

लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ । एअरलाइन्सले भनेको छ, ‘यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।’ रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.