स्थानीयवासीका सक्रियतामा जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै

  २०८० फागुन २८ गते १०:२७     रवीन्द्र काफ्ले

पाँचथर । पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वका हुन्छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै प्रचारप्रसारमा जोड दिइँदै छ । हुन त सबै पर्यटकीयस्थलमा बजेट पुग्न सकेको छैन भने बजेट पुगेका स्थल पनि पर्यटकको आकर्षण बनिसकेका छैनन् । तर फिदिम नगरपालिका–१३ को जेभाले भने स्थानीयवासीको सक्रियतामा धार्मिक र पर्यटकीयरुपमा विकास भइरहेको छ ।

फिदिम बजारबाट फिदिम–फालोट सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । फिदिम–फालोट सडकमा पर्ने फिदिम–१२ को डेरी बजारबाट कच्ची सडक हुँदै जेभालेसम्म पुग्न सकिन्छ । स–साना थुम्काको मध्यम टाकुरो, विशेष प्रकारका चट्टानहरुको सानो पहाड, खोचमा गुप्तेश्वर महादेव स्थानले सज्जित छ जेभाले ।

जेभालेबाट माथिपट्टि बूढीथाम धार्मिकस्थल छ । फिदिम–१३ को झुरुप्प घर रहेको सुन्दर बस्तीको शीरमा जेभाले सजिएर बसेको छ । जेभालेबाट फिदिम नगरपालिकाका अधिकांश वडासहित पाँचथर, तेह्रथुम र धनकुटाका सयौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । पाथीभरादेखि कुम्भकर्ण हिमालसम्म दूरदृश्यका लागि पनि जेभाले उपयुक्त छ ।

अहिले जेभाले गुराँस र चापको सुगन्धले मगमगाएको छ । हातमा गुराँस टिपेर लुङरुपाको बस्तीमाथि हल्लाउँदा कम आनन्द पक्कै हुँदैन । गुप्तेश्वर महादेव स्थान दर्शनार्थीको मनोकाङ्क्षा पूरा गर्न तम्तयार भए झैं लाग्छ यहाँ पुग्दा । तर यति आकर्षणले स्थानीयवासीलाई पुगेको छैन् । अहिले त जेभाले थुम्कैपिच्छे संरचना बनाउन भ्याइनभ्याइ छ । कच्ची सडक हुँदै गुप्तेश्वर महादेव स्थानको प्रवेशद्वारमै पुगिन्छ । माथिपट्टि केही घर रहेको पञ्चमी भञ्ज्याङ पर्यटकको स्वागतमा तम्तयार देखिन्छ । बस्तीमा सफाचट सार्वजनिक शौचालय छ ।

दुई टाकुराको बीचमा अहिले आकर्षक खेलमैदान निर्माण भइरहेको छ । खुला सभाकक्ष निर्माण भइसकेको छ भने खेल मैदानसँगै शौचालय र खेल गतिविधि सञ्चालन गर्ने सानो कार्यालय बनिरहेको छ । यही निर्माण कार्यमा धमाधम श्रम गरिरहेको भेटिनुहुन्छ, गजेन्द्र राई । जेभाले बदल्ने हुटहुटीले हरबखत पिरोलिएको कोही मान्छे यहाँ भेटिन्छ त्यो गजेन्द्र राई नै हो ।

लामो समय शिक्षण पेसामा आबद्ध भई अहिले गाउँ बदल्न कस्सिएका गजेन्द्र राईबारे जेभालेकै होमबहादुर रिमाल भन्छन्, ‘गजेन्द्र सरले पढाउन छोडेपछि हाम्रो गाउँ फेरिएको छ । हिजो कोही मान्छे यहाँ आइपुग्दैन थिए । आज दैनिकजसो घुमघाम गर्ने मान्छे आउन थालेका छन् । बर्सेनि ठूलो मेला लागिरहेको छ ।’

रिमालले भनेजस्तै जेभालेमा एक व्यवस्थित खेलमैदान निर्माण भइरहेको छ । गुप्तेश्वर महादेव स्थानदेखि वनभोज खान तयार पारिएको हुक्मा डाँडासम्म आकर्षक पदमार्ग निर्माण गरिएको छ । हुक्मा डाँडामा वनभोज खान आवश्यक सबै प्रबन्ध मिलाइएको छ । गुप्तेश्वर महादेव स्थानमा प्राकृतिकरुपमा भगवान् शिव र पार्वतीसँग सम्बन्धित दर्जनौँ आकृति रहेका छन् । धार्मिक दृष्टिले यसको विशेष महत्व रहेको यस क्षेत्रको विकासमा सक्रिय गजेन्द्र राईको भनाई छ । उनका अनुसार गुप्तेश्वर महादेव स्थानमा जेभाले नै पुख्र्यौली घर भई हाल अमेरिका बसोबास गर्ने नारद रिमालको परिवारले ३५ लाख रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिदिएका छन् । अब गुप्तेश्वर महादेवको महिमा प्रचारप्रसारको आवश्यकता रहेको राईको भनाइ छ ।

जेभालेमा व्यवस्थित खेल मैदान निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । यस वर्ष कोशी प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा खेलमैदान व्यवस्थित गर्ने काम भइरहेको राईले बताए । ‘अहिले खेलमैदान मात्रै भएर पुग्छ भन्ने सोचबाट माथि उठेर खेल मैदानसँगै पक्की शौचालय र कार्यालयको व्यवस्था गर्न लागेका छौँ’, राईले भने, ‘शौचालय नहुँदा खेलाडी समस्या पर्ने गरेको देखेर यही काम अन्यत्र पनि होस् भनेर खेलमैदानसँगै खेलाडीका लागि शौचालय र कार्यालय बनाउन लागेका हौँ ।’

विसं २०७५ मा फिदिम नगरपालिकाबाट विनियोजित सात लाख रुपैयाँमा खेल मैदान विस्तार गरी खेल्न लायक बनाइएको थियो । उसो त उक्त खेल मैदान निर्माणको आफ्नै कथा रहेको राई बताउँछन् । शान्तिदीप युवा क्लब र नवआशिष युवा मञ्चले २०६५ सालमा देउसी खेलेर खेल मैदान निर्माणका लागि चार रोपनी जग्गा खरिद गरेका थिए । यहाँ रहेको सिंहसिद्ध आविका नाममा रहेको जग्गामा सोही वर्षबाट श्रमदानमार्फत खेलमैदान निर्माण थालिएको थियो ।

यस पटक भने खेल मैदानसँगै दुवैतर्फको पहाड काटेर दर्शकका लागिसमेत सुविधा हुने व्यवस्था स्थानीयवासीले गर्न लागेका छन् । खेल मैदानसँगै मेला महोत्सवमा स्टल तथा होटल स्थापना गर्ने ठाउँको व्यवस्था गरिएको छ । वनभोज खाने व्यवस्था मिलाइएको हुक्मा डाँडामा अन्यत्रजस्तो समस्या छैन । यहाँसम्म सडक पुर्याइएको छ भने वनभोज खान आउनेले खानेकुराबाहेक कुनै सामग्री नल्याए पनि वनभोज खान सक्ने प्रबन्ध स्थानीयवासीले मिलाएका छन् । ठाउँ–ठाउँमा डस्बिन राखेर कहीँकतै फोहर हुन नदिने अभियान चलाइएको छ । आठ लाख रुपैयाँको लगानीमा गुप्तेश्वर महादेव स्थानबाट पदमार्ग निर्माण गरी हुक्मा डाँडासम्म पु¥याइएको छ ।

विगतमा बाघ भालु भुक्ने भएकाले राई वान्तवा भाषाबाट उक्त स्थानको नाम हुक्मा डाँडा भनिएको राई बताउँछन् । वनभोजस्थलमा शौचालय, खानेपानी र भाँडाकुँडाको व्यवस्था गरिएको छ भने जनश्रमदान र स्थानीयवासीको लगानीमा विद्युत्समेत जडान गरिएको छ । ‘पिकनिक खाँदा आवश्यक पर्ने चम्चादेखि मासु काट्ने सामग्रीसम्म हामीले प्रबन्ध गरिदिएका छौँ, त्यो पनि निःशुल्क’, यहाँको विकास सक्रिय गजेन्द्र राईले भने, ‘शौचालय र वनभोजका लागि आवश्यक सामग्री भण्डार गृहमा जस्तापाता लगाउन बाँकी छ ।’

नगरपालिकाले डिजेल मात्रै उपलब्ध गराइदिँदा स्थानीयवासीले स्काभेटर प्रयोग गरी एक हजार २०० मिटर सडक निर्माण गरेर हुक्मा डाँडासम्म सडक पुर्याएका छन् । दृश्यावलोकनका लागि हुक्मा डाँडा सबैभन्दा उपयुक्त छ । ‘सफा मौसम हुँदा चारैतिर देख्न सकिन्छ । चाप र गुराँस पाइने, चराचुरुङ्गीको आवाजले गुञ्जिने ठाउँ हो यो’, राईले भने ।

पञ्चमी भञ्ज्याङबाट हुक्मा डाँडा जाने पदमार्गमा निकै आकर्षक चट्टानबाटिका (रक गार्डेन) रहेको छ । यहाँ फरक–फरक आकृतिका ढुङ्गा रहेका छन् भने ढुङ्गाको चेपमा गुफा रहेका छन् । यहाँ पेनगुइन, खरायोको कान जस्ता आकृतिका ढुङ्गा, ढुङ्गामै रुख अडेकोसमेत देख्न पाइन्छ । ‘यस स्थानको प्रवद्र्धनका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्छ । यसका लागि आकर्षक डिजाइन र बजेटको आवश्यकता छ’, राईले भने ।

प्रकृतिले सुन्दरता भरेको र स्थानीयवासी गजेन्द्र राईको अगुवाइमा सम्वद्र्धन थालिएको जेभालेमा पर्यटक आउन थालेपछि स्थानीयवासी दङ्ग छन् । स्थानीयवासी होमबहादुर रिमालले भने, ‘यहाँ मान्छेहरु घुम्न आएर बजार लाग्न थालेको छ । पहिले चिहानघारी र तर्साउनेजस्तो छ भनेर मान्छे आउन डराउँथे । गजेन्द्र सरले स्कुल छोडेर आएपछि यहाँ सबै कुराको मुहार फेरोको छ ।’

समाजका लागि अहोरात्र खटेका गजेन्द्र सिदिन माध्यमिक विद्यालय फालेलुङमा माध्यमिक तहको अङ्ग्रेजी शिक्षक थिए । तर समाजमा केही काम गर्न आग्रह गर्दा आफूलाई शिक्षकका रुपमा मात्रै लिने भएपछि ०७४ सालको स्थानीय तह निर्वाचनपूर्व उनले शिक्षण पेसाबाट राजीनामा दिए । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका राईले चुनाव जित्न त सकेनन् तर गाउँको विकासको अगुवाइ भने गरिरहेका छन् । ‘धेरै साथीभाइले हार्ने चुनावका लागि उम्मेदवार बन्न किन पेृसा छाडेको पनि भने । तर गाउँको विकास गर्ने मेरो सपनामा मेरो पेसा बाधक बनेको थियो’, उनले सम्झिए ।

भव्य मेला लगाएर केही रकम सङ्कलन गरी सामाजिक क्षेत्रमा खर्चने, सार्वजनिक शौचालयलाई नमूना बनाउने, सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्नेजस्ता अभियान चलाएका राईको अगुवाइमा यस स्थानमा ०५६ सालमै अनिवार्यरुपमा शौचालय निर्माण र प्रयोग गर्ने अभियान चलेको स्थानीयवासी बताउँछन् । सीमित बजेटलाई समुचित प्रयोग गरेर पर्यटक तान्न थालेको जेभाले विशेषत आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.