वल्फ लिण्डाको विवाह र नेपालको सत्ता गठबन्धन

  २०८० फागुन २४ गते १२:२०     रामकृष्ण पौडैल

पूर्वपतिहरूको फोटो देखाउँदै वल्फ लिण्डा

काठमाडौं । कहिले एउटा र कहिले अर्कै राजनीतिक दलसँग गठबन्धन गरेर सत्ता सम्हाल्ने विषय नेपाली राजनीतिक दलका लागि नयाँ होइन । यसमा उनीहरू आफू पनि अभ्यस्त भइसकेका छन् भने अब सर्वसाधारणले पनि त्यसलाई सहजरूपमा लिन थालिसकेका छन् । यहाँ सिद्धान्त, मूल्य, मान्यता, राष्ट्रिय आवश्यकता, देशको मुलभुत समस्या समाधान केन्द्रीत नभई मात्र केवल नेतृत्वको आकांक्षा र व्यक्तिगत सुविधाका नयाँ सम्बन्ध वा सम्बन्ध विच्छेद भइरहेका छन् ।

सत्ता गठबन्धनमा फेरवदल आउँदा सत्ताबाट बाहिरिएकाे मुख्य पार्टी नेपाली काँग्रेसको कार्यकर्ता पंक्तिमा व्यापक निराशा देखियो । तर, सत्तामा भित्रिएको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका कार्यकर्ता पंक्तिमा कुनै उत्साह देखिएन ।

नयाँ गठबन्धनमा सरकार बन्दै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, प्रधानसेनापति लगायत सरकारको मुल नेतृत्व यथावत रहनेछ । राज्य सञ्चालनको लागि महत्वहीन रहेको राष्ट्रिय सभाको अध्यक्षमात्र फेरिँदैछ, जुन परिवर्तनको समय नै भएको हो । नयाँ गठबन्धनसँगै केही मन्त्रीहरू फेरिएका छन् तर प्रवृतिमा कुनै परिवर्तन छैन । सरकारको नीति, कार्यक्रम, बजेटमा खास परिवर्तन हुने छैन । एउटा सम्भावना निश्चित छ, जेठ १५ गते सार्वजनिक गरिने बजेटमा करका दर वृद्धि गरिनेछ ।

करका दर वृद्धि हुनुपूर्व सातै प्रदेश सरकारहरूमा टुटफुट निश्चित छ, त्यसको सुरुवात पनि भैसकेको छ । केन्द्रमा झै प्रदेशमा पनि मन्त्रिपरिषद् फेरबदल हुँदैछ । अबको करिब एक महिनासम्म राजनीतिक विधाका पत्रकारहरू दलहरूले मन्त्री पदका लागि गर्ने दावी र मन्त्रीहरूको फेरबदलका समाचार छिनछिनमा ब्रेक्रिङ गर्न व्यस्त हुनेछन् । रुखको पात झर्ने र पलाउने जस्तै मन्त्री खुस्कने र बन्ने महत्वहीन विषयमा सञ्चारकर्मीहरूले धेरै समय बिताउने छन् ।

सरकार बन्नु र भत्कनु नेपाली समाजको लागि नौलो विषय बन्न छोडेको छ । जनसरोकारको विषयमा सरकारको भूमिका देखिन छोडेसँगै सरकार गठन, विघटन, एउटा दल सरकारबाट बहिर्गमन, अर्को दल सरकारमा आगमनले सर्वसाधारणमा कुनै फरक पार्न छोड्दै गएको छ । सरकार परिवर्तन केवल सरकारी सेवामा दलाली गरेर अबैध आर्जनको पेशामा रहेका दलाल र राजनीतिक विचौलियाको लागि मात्र चासोको विषय बन्दैछ । र, राजनीतिक विधामा समाचार लेख्ने पत्रकारको लागि समाचारको विषय बन्ने गरेको छ । अरुको लागि सरकार परिवर्तन घाम उदाउनु र अस्ताउनु बराबर हुँदैछ ।

सत्ता गठबन्धन परिवर्तनपछि थोरै मानिसको अनुहारमामा खुशी देख्न सकिन्छ । आम मानिसहरू बेचैन छ । बेचैन हुनुमा केही आधारहरू छन् । राजनीतिक अस्थिरता झनै बढ्यो । नयाँ संविधानले राजनीतिक स्थायित्व दिन सकेन । राजनीतिक नेतृत्वले बारबार गल्ती स्वीकार गर्छ तर सच्चिनेतर्फ कुनै संकेत समेत दिएन । २०४७ सालको परिवर्तनको १२ वर्षमा धेरै राजनीतिक अस्थिरता भएको थियो । त्यसको अपजस दलहरूले राजा र दरवारियालाई दिन्थे । त्यतिबेला भन्दा गणतन्त्र आएपछिको राजनीतिक अस्थिरता झनै बढेको छ । मुल कारणबारे सचेत नागरिक जानकार छन् कि -राजनीतिक दलका नेताहरू चरम स्वार्थी हुनु, व्यक्तिवादी हुनु, राष्ट्रिय आवश्यकता नबुझ्नु, दूरदर्शीता नहुनु, विचारको राजनीति छोड्नु । नेतृत्वले इमान, जमान, अडान सबै लत्याउँदै जानु ।

सरकारले दिने न्यायिक सेवाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । प्रहरीले दिने सुरक्षाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर खस्कदै गएको छ । सहरका सडक भत्कदै गएका छन् । गाउँमा सडक पूर्वाधार बन्न छोडेका छन् । बनेका विमानस्थलमा जहाज आउँदैन । बनेका धारामा पानी झर्दैन । जहाँ सरकारको उपस्थिति छ, त्यहाँ अस्तव्यस्तता चरम छ । कतिसम्म भने सरकारी कर्मचारीहरूले तलब नपाएकाे गुनासो पत्रकारसँग गर्न थालेका छन् ।

कलेज पास गर्नेले काम पाउँदैनन् । रोजगारी पाउनेले पनि नियमित तलब पाउन छोडेका छन् । उद्योग व्यवसायमा लगानी गर्नेले प्रतिफल पाउने छोडेका छन् । सेयर र घरजग्गामा लगानी गर्नेहरू गुमेको सम्पत्तिको हिसाव गरेर बसिरहेका छन् । ऋण प्रवाह गर्ने बैंकहरूले कर्जाका किस्ता फिर्ता पाउन छोडेका छन् । सहरमा घर बनाउनेले भाडा पाउन छोडेका छन् । गोलभेडा वा उखु वा अन्य बाली लगाउने किसानले उत्पादनको उचित मूल्य पाउँदैनन् । दुध किसानले भुक्तानी पाउँदैनन् ।

अर्थतन्त्र डामाडोल भएको छ । उद्योगहरू ४० प्रतिशतभन्दा कम क्षमतामा चलेका छन् । व्यापारमा उच्च गिरावट भएको छ । सहरका सटरहरू भटाभट बन्द भैरहेका छन् । निजी क्षेत्र नियमित रूपमा कर्मचारीको तलब खुवाउन र बैंकको किस्ता तिर्न असफल हुँदै गएको छ । सरकार आफ्नै कर्मचारीलाई नियमित तलब खुवाउन, सार्वजनिक ऋणको किस्ता तिर्न र सामाजिक सुरक्षा भत्ता खुवाउन नसक्ने अवस्थामा फस्दैछ । सरकारी बजेटमा आधारित निर्माणको काम ठप्प नै भएको छ ।

देशको अवस्था बिग्रदै जाँदा काम गरिखाने वर्ग कि देशबाट पलायन भएको छ कि निराश भएर, विरक्तिएर बसेको छ । उत्पादनमुलक उद्योगहरू क्रमशः बन्द हुदै गएका छन् । अन्तर्राष्ट्रिय व्यापार घाटा बढ्दै गएको छ । युवा पुस्ता गुणस्तरीय शिक्षा र रोजगारीका लागि देश छोड्न बाध्य भईरहेको छ । विदेश पलायन र नैराश्यता देशको लागि सबैभन्दा ठूला समस्याको रूपमा फैलिएको छ ।

वल्फ लिण्डा

यी यावत समस्या समाधान गर्नेतर्फ राजनीतिक नेतृत्वको सिर्जनात्मक सोच, छलफल, योजना केही छैन । एउटा नेताले अर्को नेतालाई गाली गर्न जानेको छ । विपक्षीमा हुनेले सत्ता पक्षलाई धम्क्याउन जानेको छ । समाजलाई पुरै निराश तुल्याउने गरी संसदमा वा सार्वजनिक मञ्चमा समस्याको चाङ देखाउन राजनीतिक नेतृत्व माहिर छ । तर, उसँग समास्याको समाधान छैन । मात्र सत्ता चाहिएको छ, मात्र पद चाहिएको छ, मात्र कुर्सी चाहिएको छ, मात्र निजी स्वार्थ र आसेपासेको स्वार्थ पूर्ति गर्नु परेको छ ।

नेपालको सत्ता गठबन्धनको नयाँ श्रृंखलाले वल्फ लिण्डाको विवाहलाई स्मरण गराएको छ । गिनिज वल्ड रेकर्डका अनुसार लिण्डाले २३औं पटक विवाह गरेर विश्वको सबैभन्दा बढी विवाहको रकर्ड कायम गरेकी रहिछन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकी नागरिक लिण्डाको निधन ८७ वर्षको उमेरमा सन् २०२२ मा भयो । २४औं विवाह गर्न नपाएकोमा उनी मर्नुअघि पनि असन्तुष्ट थिइन् ।

वल्फ लिण्डा पत्रकार एवं लेखक हुन् । चरम यौन इच्छा भएकी लिण्डाले धेरै पुरुषसँग विवाह गरिन् । उनका पतिहरूको सूचीमा अदालतबाट दोषी ठहर भएका व्यक्तिदेखि मेकानिक, प्रचारक, बारमेन, प्लम्बर, संगीतकारसम्म थिए । र, विवाहित पुरुषसँग उनको सम्बन्ध कम्तिमा ३६ घण्टा र बढीमा ७ वर्ष रहेको थियो । शुभेच्छा व्यक्त गरौं नेपालको सत्ता गठबन्धन वल्फ लिण्डाको विवाहको लहड जस्तो नबनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.