वर्षमान पुनले सम्हाले अर्थमन्त्रालयको कमाण्ड, ‘अर्थतन्त्रलाई सजिलै गति दिन सकिन्छ’

  २०८० फागुन २३ गते २०:५६     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्री पुनले जलवायु वित्तमार्फत् आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने पनि निर्णयमा उल्लेख छ ।

‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ ।

नवनियुक्त अर्थमन्त्री पुनलाई सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउनु पर्ने चुनौती छ । अहिले व्यवसायीलाई ऋण तिर्नका लागि ऋण लिनु पर्ने बाध्यता छ । व्यावसायिक वातावरण राम्रो छैन ।

देशमा आर्थिक गतिविधि बढ्न नसक्दा सरकार घाटामा सञ्चालन भइरहेको छ । राजस्व घट्दा सरकारको आम्दानीभन्दा दायित्व बढी हुन पुगेको छ । निर्माण क्षेत्रले गती लिन सकेको छैन ।

अब स्रोत जुटाउन र जुटेको स्रोत व्यवस्थित रुपमा खर्च गर्नुपर्ने जिम्मेवारी अर्थमन्त्री पुनसँग छ । अर्थतन्त्रमा देखिएका विभिन्न समस्या समाधानका लागि खट्नु पर्ने जिम्मेवारी पुनमाथि छ ।

अर्थतन्त्रलाई सजिलै गति दिन सकिन्छ

उनले पदभार ग्रहण गर्दै अर्थतन्त्रलाई सजिलै गति दिन सकिने बताएका छन् । अहिले १० प्रतिशत रहेको राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिने पनि बताएका छन् ।

उनले आफू यसअघि अर्थमन्त्री बन्दा घरजग्गा र सहकारी क्षेत्रमा ठूलो समस्या रहेको बताउँदै अहिले पनि समस्या भएपनि खासै ठूलो नभएको धारणा राखे ।

उनले विगतमा सिर्जना भएका दायित्व राज्यले भुक्तानी गर्नु पर्ने पनि बताए । ‘विश्वमै अर्थतन्त्रको अवस्था राम्रो छैन, यो बिचमा हामीले काम गर्नु पर्नेछ, मैले अहिलेको अवस्थालाई सकारात्मक चुनौतीको रुपमा लिएको छु,’ उनले भने ।

भिडियो हेर्न यहाँ थिच्नु होला

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.