मन्त्रिमण्डलमा पुरानै अनुहार, एमालेबाट कनिष्ठ नेतृत्व

  २०८० फागुन २३ गते १५:५२     विकासन्युज

काठमाडौं । सत्ता गठबन्धनले नयाँ बन्ने मन्त्रीकाे नाम टुंग्याएको छ । जसमा एमाले र माओवादीबाट अधिकांश पुरानै अनुहार मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् ।

नयाँ मन्त्रीहरुको सपथ आजै गर्ने तयारी भएको छ । बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको सपथ गराउने तयारी गरिएको हो ।

तीन दिनको निरन्तर छलफलपछि बुधबार टुंगिएको मन्त्री बाँडफाँटमा एमालेले ८, माओवादीले ५, रास्वपाले ४, एकीकृत समाजवादीले २ र जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ ।

एमालेको तर्फबाट रघुविर महासेठ, पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी सरकारमा सहभागी हुने भएका छन् ।

सरकारमा एमालेको तर्फबाट सचिव रघुविर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने  हरि उप्रेती रक्षा मन्त्रालय, भगवति चौधरी महिला बालबालिका मन्त्रालय, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग मन्त्रालय, ज्वालाकुमारी साह, कृषि र बलराम अधिकारी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र पदम गिरीलाई कानुन मन्त्रीको जिम्मेवारी दिइएको छ ।

एमालेले सरकारमा पठाएका मन्त्रीहरूमध्ये बलराम अधिकारी बाहेक सबै पुराना अनुहार हुन् ।

त्यस्तै, माओवादी केन्द्रको तर्फबाट सरकारमा नयाँ अनुहारले अवसर पाएनन् । माओवादीको तर्फबाट परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमा वर्षमान पुनले जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै, रेखा शर्मा, शक्तिबहादुर बस्नेत र हितबहादुर तामाङ पनि माओवादीको तर्फबाट सरकारमा सहभागी हुने भएका छन् । रेखाले सञ्चार, शक्तिले उर्जा र तामाङले पर्यटन मन्त्रालय पाउने भएका छन् । माओवादीबाट सरकारमा सहभागी हुने सबै अनुहार पुरानै हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता समीकरणको क्रममा पाएको चार वटा मन्त्रालयमध्ये २ वटामा नयाँ अनुहारलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

सभापति रवि लामिछानेले गृह, उपसभापति डिपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् । रास्वपाको तर्फबाट सरकारमा सहभागी हुने सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ मन्त्रिमण्डलमा नयाँ अनुहार हुन् ।

सत्ता समीकरणको क्रममा बुधबार टुंग्याइएको १९ वटा मन्त्रालयमध्ये २ वटा मन्त्रालय जनता समाजवादी पार्टीलाई छुट्याइएको छ । तर, जसपाले मन्त्रीमण्डलमा ककसलाई सहभागी बनाउने भन्ने विषय टुंग्याइसकेको छैन ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि दुइटा मन्त्रालय पाउने बुझिएको छ । तर, मन्त्री बन्ने नेताको नाम भने टुङ्गिएको छैन ।

नयाँ सत्ता समीकरणपछि बन्ने मन्त्रिमण्डलमा एमालेको उच्च पदाधिकारीको सहभागिता नदेखिनुमा धेरैले शंसय पैदा गरेका छन् । एमालेमा धेरै नेताहरू परिपक्व र काम गर्न सक्ने क्षमतावान हुँदाहुँदै बरियतामा कमजोरलाई एमालेले मन्त्री बनाउने भएको हो । धेरैले यो विषयमाथि शंका उत्पन गरेका छन् । एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस विषयमा आफूले प्रतिक्रिया नदिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.