नेपाल बिटुमिन उद्योगले एकैदिन गर्यो तीन वर्षको सभा, सञ्चालकमा तीन जना निर्वाचित

  २०८० फागुन ७ गते १९:२६     विकासन्युज

काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले एकैपटक तीन आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उद्योगले फागुन ६ गते आफ्नो ३३औं, ३४औं र ३५औंं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

साथै, सभाबाट सञ्चालक समितिमा तीन जना निर्विरोध निर्वाचित भएका छन् । सभाले ३५ प्रतिशत सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्फबाट अशोककुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठलाई यस उद्योगको सञ्चालकमा र स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकाश आचार्यलाई निर्विरोध निर्वाचित गरेको छ ।

उक्त सभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुममार्फत सम्पन्न भएको हो । सभामा प्रबन्ध सञ्चालक श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा विगतमा इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए ।

साथै, यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आर्थिक वर्ष २०७९/०८० मा बिक्री बृद्धि भएको बताइएको छ ।

नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने योजना रहेको कम्पनीले उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजाने बताएको छ । र, अब वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिवद्धता पनि प्रबन्ध सञ्चालक श्रेष्ठले गरेका छन् ।

उद्योगले विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत वृद्धि गरी बजारमा पठाउने गरेको छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि हालसम्म पुरा गर्न नसक्दा निर्माण कार्यले गति लिन नसकेको उद्योगले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.