चिनी उद्योगलाई उखु अभाव

  २०८० फागुन ३ गते ६:४३     विकासन्युज

नवलपरासी । पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।

पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ । उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन् ।

जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिए । उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उनले बताए । यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ ।

लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन् । यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन् ।

सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन् । जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.