गण्डकी र मधेश प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

  २०८० माघ २७ गते ७:१५     विकासन्युज

काठमाडौं । एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

मधेश प्रदेशमा फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि फोरजी नेटवर्क सुधार भएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्यांकका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ। सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.