उद्योगहरूबाट निर्माण सामग्रीको उत्पादन कटौती, घाटाको व्यापारमा व्यवसायी, यस्तो छ नयाँ मूल्य

  २०८० माघ १९ गते १९:०५     राजिव न्यौपाने

काठमाडौं । सिजनमा समेत निर्माण सामग्रीको माग नभएपछि उद्योगले उत्पादनमा कटौती गर्न थालेका छन् । विगतका वर्षहरूको तुलनामा माग कम भएपछि उद्योगहरूले वस्तु उत्पादनमा पनि कटौती गर्न थालेका हुन् । उद्योगी व्यवसायीहरूका अनुसार विगतका वर्षहरूको तुलनामा निर्माण सामग्रीको व्यापारमा ५० प्रतिशतसम्म उत्पादन घटेको हो ।

बजारमा निर्माण सामग्रीको माग घटेपछि त्यसको प्रत्यक्ष प्रभाव उद्योगहरूसम्म पुगेको हो भने मूल्य पनि घट्न पुगेको हो । अहिले बजारमा अधिकांश निर्माण सामग्रीको मूल्य घट्दो अवस्थामा छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल छड, ग्रिल, स्टिल लगायत फलामजन्य निर्माण सामग्रीको मूल्य घटेको बताउँछन् ।

‘देशमा विकास निर्माणको काम ठप्प छ, विकास निर्माणका नयाँ काम हुन सकेको छैन, काम नहुँदा सरकारको खर्च पनि हुँदैन, अर्थतन्त्रमा एक किसिमको सुस्सता छ, अर्थतन्त्र नै समस्यामा भएपछि मान्छेहरूले नयाँ व्यापार व्यवसाय गर्न सकेका छैनन्, त्यसैले पनि निर्माण सामग्रीको माग कम भएको हो, माग कम भएपनि मूल्य पनि घटेको हो,’ उनले भने ।

उनका अनुसार नयाँ घर बनाउने मानिसहरूको संख्या पनि न्यून छ । पहिले निर्माण सिजनमा अधिकांश मानिसहरूले घर बनाउने भए पनि अहिले त्यो संख्या घटेको छ । उनले अहिले डन्डीको मूल्य प्रतिकेजी एक सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको बताए ।

‘डन्डीको मूल्य लामो समयदेखि एक सयको हाराहारीमा खरिदबिक्री भइरहेको छ, अहिले पेट्रोलको मूल्य बढेको छ, निर्माण सामग्रीको मूल्य पनि बढ्छ होला । तर, आजका दिनसम्म घटेको छ,’ उनले भने ।

घरजग्गाको कारोबार र विकास निर्माणको काम नबढेसम्म निर्माण सामग्रीको व्यापार पनि नफस्टाउने उनको तर्क छ ।

यस्तै, निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष दीपक श्रेष्ठले निर्माण सामग्री खरिदबिक्रीको अवस्था नाजुक रहेको सुनाए । उनका अनुसार निर्माण सामग्री व्यापार अहिले ठप्पजस्तै छ ।

‘देशमा आर्थिक मन्दी छ, आर्थिक गतिविधिहरू बढ्न सकेका छैनन्,’ उनी भन्छन्, ‘देशमा निर्माणको काम भएन भने यो क्षेत्र ठप्प नै हुन्छ ।’

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसपछि निर्माण सामग्रीको मूल्य घट्दै गइरहेको उनको भनाइ छ । विगतमा एक हजार रुपैयाँसम्म पर्ने प्रतिबोरा सिमेन्टको मूल्य अहिले ८ सयको हाराहारीमा रहेको उनको भनाइ छ ।

निर्माण सामग्रीको व्यापार गर्ने व्यवसायीले विगत डेढ वर्षदेखि घाटाको व्यापार गरिरहेको उनले बताए । वस्तुको माग नभएपछि निर्माण क्षेत्र नै संकटमा रहेको गुनासो उनले गरे ।

यस्तै, हुलास वायर इन्ड्रष्टीका बजार प्रबन्धक विशाल जानीले बजारमा निर्माण सामग्रीको मागमा कमी आएपछि उद्योगहरूले उत्पादन पनि घटाएको बताए । उनका अनुसार अहिले उत्पादन र मूल्य पनि घटेको छ ।

‘हामीले उद्योगबाट १० देखि १६ एमएम छडको प्रतिकेजी (भ्याट वाहेक) ७८ रुपैयाँ, २० एमएमको प्रतिकेजी ७९ रुपैयाँ र २५ एमएमको ८२ रुपैयाँमा बिक्री गर्दै आएका छौं, विगतको तुलनामा यो ४ रुपैयाँसम्म कम हो,’ उनले भने ।

यो उद्योगको मूल्य भएपनि बजारमा भने डन्डीको मूल्य केही महँगो पर्न जान्छ । विगतको तुलनामा उत्पादन ५० प्रतिशतले घटेको उनको भनाइ छ ।

‘निर्माण सामग्रीको बिक्री नभएपछि पूर्ण क्षमतामा उत्पादन भएको छैन, निर्माणका कार्यमा भएको सुस्ततासँगै ठूल्ठूला आयोजनाको कामले तीव्रता नपाउँदा समस्या भइरहेको छ, त्यसको प्रत्यक्ष असर उद्योगलाई नै परेको छ,’ उनले भने ।

इँटा उद्योग पनि संकटमा

निर्माणमा आएको सिथिलता र बजारबाट मागको कमीले इँटा उद्योगको भविश्यमाथि पनि प्रश्न उठेको छ । इँटा बिक्री नभएपछि उद्योगीहरू समस्यामा पर्दै गएको गुनासो गरिरहेका छन् ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले इँटाको माग घटेको बताए । उनका अनुसार बजारबाट मागको कमीले उत्पादनमा पनि गिरावट आएको छ । उनले प्रयाप्त वस्तु बिक्री नहुँदा बैंकको सावाँ ब्याज पनि तिर्न समस्या भइरहेको सुनाए । उनका अनुसार अहिले इँटाको बजार ६० प्रतिशतले घटेको छ ।

इँटाको बिक्री नभएपछि पछिल्लो समय एकपछि अर्को इँटा उद्योगहरू बन्द हुन थालेको उनको भनाइ छ । यसले इँटा उद्योगीहरूमा ठूलो चिन्ता र त्रास सिर्जना गरेको उनी बताउँछन् ।

‘विगतमा प्रतिइँटा २० रुपैयाँमा खरिदबिक्री हुन्थ्यो, अहिले १५ रुपैयाँम खरिदबिक्री हुन्छ,’ उनले भने ।

सिमेन्टको व्यापार खुम्चियो

अहिले सिमेन्टको व्यापारमा पनि ठूूलो गिरावट आएको छ । सिमेन्टका उद्योगीहरूले अहिले सिमेन्ट घाटा बेहोरेर खरिदबिक्री भइरहेको बताउँछन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा अहिले सिमेन्ट उद्योगहरू समस्यामा रहेको बताए । उनका अनुसार विगतको तुलनामा सिमेन्टको उद्योगको ३० प्रतिशतसम्म उत्पादन क्षमता घटेको छ ।

थापाका अनुसार सिमेन्टको मूल्य पनि केही स्थिर छ । उनले अहिले उद्योगीहरूले प्रतिबोरा सिमेन्टमा ७० रुपैयाँसम्म घाटा खाएर बिक्री गर्नु परेको छ । उनले सरकारले सहजीकरण गर्न सकेमा वार्षिकरूपमा डेढ खर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.