‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा एलर्ट गर्न पाइने

  २०८० माघ १८ गते १४:०४     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को आरम्भ गरेको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ गरेका हुन् । एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ ।

यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिए । ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ । गुनासोहरुलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रवन्ध गरिएको छ ।

त्यस्तै सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ । एप शुभारम्भ गर्दै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नगरप्रमुख महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उनले बताए । उनले एपमार्फत सेवा दिन पनि पूर्वाधारको व्यवस्थापन गर्नु आवश्यक रहेको भन्दै उनले पूर्वाधार निर्माणमा लागि परेको पनि बताए ।

‘आज शुभारम्भ गर्यौँ । यसले एकदम राम्रो सेवा प्रदान गर्छ भन्ने हाम्रो आशा छ । काम गर्दै जाँदा कुनै किसिमको ढिलोपन अथवा समयमै सम्बोधन गर्न नसकेको किसिमको वातावरण सिर्जना भयो भने हामी त्यसलाई समयमै सम्बोधन गरेर त्यसलाई सुधार गर्छाैँ । यसको लागि पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ । पूर्वाधार तयार गर्ने सन्दर्भमा हामी लागि परेका छौँ । तर सबै पूरा भइसकेको छैन । त्यस निम्ति रातो पुस्तिकामै बजेटको व्यवस्थापन गरेर अगाडी बढिरहेका छौँ’, उनले भने ।

एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै बिना स्वीकृति संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडक बत्ति, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.