नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान

  २०८० माघ १३ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीहरुलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । कतारको दोहामा आयोजित ‘नेपाल विजनेश एशोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।

अध्यक्ष ढकालले भने, ‘नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना रहेको छ । त्यसैगरी, नवीकरणीय ऊर्जा, पर्यटन तथा आतिथ्य, पूर्वाधारको विकास, शहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभव नेपालमा प्रयोग गर्न सकिन्छ । नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस् ।’

अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकहरुको योगदान रहेको बताउँदै ती श्रमिकहरुलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीहरूलाई आग्रह पनि गरे ।

गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो । अध्यक्ष ढकालले भने, ‘आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरुको मनमा थियो होला, तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ ।’

नेपालमा वैदेशिक लगानी भित्र्यान आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा नेपाल सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानीको राम्रो वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्ताहरुलाई पनि यसका लागि प्रेरित गर्न उनको आग्रह थियो ।

सरकारले धेरै कानुनी अड्चनहरु सुधार गरी लगानीमैत्रि वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप काम पनि भइरहेको बताए । अध्यक्ष ढकालले केही वर्षभित्र नेपाल एलडीसीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने बताउँदै यसले नेपालको अर्थतन्त्रमा धेरै सम्भावनाहरु सिर्जना हुने र अर्थतन्त्रलाई विविधीकरण गर्न कतार एक प्रमुख साझेदार बन्न सक्ने बताए ।

अध्यक्ष ढकालले नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे । भारतसँग हालै भएको उर्जासम्बन्धी उच्तस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र उर्जा व्यापारको मार्ग प्रसस्त भएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.