६ वटा मात्रै केन्द्रीय विश्वविद्यालय र अरु ‘अन्य’ स्तरमा : उच्च शिक्षा विधेयक

  २०८० माघ १० गते १५:४२     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा हाल नेपालमा सञ्चालनमा रहेका मध्ये ६ वटा विश्वविद्यालयलाई मात्रै केन्द्रीय विश्वविद्यालय भएको र अरु विश्वविद्यालयहरु ‘अन्य’ विश्वविद्यालय भएको भनिएको छ । प्रस्तावित विधेयकको दफा २० मा ‘यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ऐतिहासिक पृष्ठभूमि तथा योगदान, विषयगत विशिष्टता, संस्थागत क्षमता र प्राज्ञिक उत्कृष्टताका आधारमा’ ६ वटा विश्वविद्यालय मात्रै केन्द्रीय विश्वविद्यालय रहेको भनिएको छ ।

विधेयकअनुसार हाल सञ्चालनमा रहेकामध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय मात्रै केन्द्रीय विश्वविद्यालय हुनेछन् । अन्य विश्वविद्यालयले केन्द्रीय विश्वविद्यालय हुन चाहेमा पाँच वर्षभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्ने विधेयकमा उल्लेख गरिएको छ ।

अहिले विश्वविद्यालय अनुदान आयोगसँग आबद्ध भएर ११ वटा विश्वविद्यालय सञ्चालन भइरहेका छन् भने नेपाल विश्वविद्यालय ऐन निर्माण प्रकृयामा रहेको छ । विधेयकअनुसार हाल केन्द्रीय रुपमा सञ्चालनमा रहेका अन्य विश्वविद्यालयले केन्द्रीय विश्वविद्यालयको रुपमा आफूलाई रुपान्तरण नगरेमा स्वतः प्रादेशिक विश्वविद्यालय हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.