स्थानीय तहको जस्तो काम संघ र प्रदेशले गर्न सक्यो भने देश चाँडै समृद्ध बन्छ

  २०८० माघ १ गते १२:३१     रामलाल डगौरा थारु

स्थानीय तहसँग नागरिकका असीमित मागहरू हुन्छन् । तर, सीमित स्रोत साधन भएकोले सबै माग पुरा गर्न समस्या नै हुन्छ । असीमित अपेक्षालाई सीमित स्रोत साधनले पुरा गर्न सक्दैन । स्थानीय तहको स्रोतसाधनले न्यूनतम सेवा र विकासका काम मात्र गर्न सकिन्छ । कतिपय मानिसमा राजनीतिक प्रतिसोधको भावना पनि हुन्छ । राम्रो काम गरे पनि उसले केही गरेको छैन भन्न्ने चलन छ । राजनीतिक आस्था राख्ने मान्छेहरू सानो काम गर्ने धेरै हल्ला गर्ने प्रवृत्ति छ ।

काम गर्दै जाँदा हाम्रा पनि केही कमजोरी होलान् । कामको गतिलाई तीव्रता दिन नसकिएको होला । तर, हामीले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं । जनतासँग जोडिएका काम गर्नको लागि कन्जुस्याइँ गरेका छैनौं । हामीले नगरभित्र स्मार्ट सिटीको कामलाई व्यवस्थित गर्ने टोल विकास समितिलाई सुदृढ बनाउँदै एकपछि अर्को कामहरू अगाडि बढाइरहेका छौं । टीकापुर नगरपालिकामा हामी निर्वाचित भएर आएपछि यहाँका आवश्यकता तथा विकास निर्माणमा गर्नुपर्ने कामका बारेमा अध्ययन गर्यौं । जसअनुरूप हामीले नगरपालिकाको गुरू योजना तयार पारेका छौं । उक्त योजना कार्यान्वयनका साथै महत्वपूर्ण कार्य योजनालाई प्राथमिकता दिएर अगाडि बढाएका छौं ।

हामीले टीकापुर पार्कको संरक्षण र सो स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएका छौं । आगामी दिनमा टीकापुर पार्कलाई नमुना प्राकृतिक पार्कको रूपमा विकास गर्नेछौं । नेपाल कृषि प्रधान देश हो । तर, कृषिका सामग्री नै आयात गरेर ल्याउनु पर्ने अवस्था छ । सोही विषयलाई मध्यनजर गर्दै नगरपालिकाले कृषिमा आधारित रोजगारका साथै उत्पादन वृद्धिको लागि कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने योजना बनाएका छौं ।

कृषकले कृषि उत्पादन गरेर मात्र हुँदैन उनीहरू त्यसमा दक्ष हुन सक्यो भने उत्पादन बढी गर्न सक्छन् भन्ने लक्ष्यसहित हामीले समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना लागू गरेका छौं । नगरले बेला/बेलामा कृषकलाई कृषिमा अनुदान पनि दिँदै आइरहेको छ । अनुदान वितरण थप प्रभावकारी बनाउनको लागि नगरले कृषकलाई कृषि परिचय पत्र दिने योजना बनाएको छ । गुणस्तरीय तथा प्राविधिक शिक्षामा नगरले विशेष जोड दिएको छ । विगतका वर्षमा परम्परागत तरिकाबाट यहाँ पठन/पाठन सञ्चालन हुन्थ्यो । अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास घटिरहेको अवस्था थियो । निजी विद्यालयमा विद्यार्थीको चाप बढ्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्ने विषयलाई मध्यनजर गर्दै शैक्षिक सुधार हामीले प्राथमिकता दिइरहेका छौं ।

सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण सिर्जना गर्नको लागि सोही किसिमका कार्यक्रमहरूको लञ्च गर्दै गयौं । सुधार्नु पर्ने पक्षलाई सुधार गर्दै नगरभित्रका धेरै विद्यालयमा दरबन्दीको व्यवस्थापन गर्दै अंग्रेजी माध्यमबाट पठन/पाठन सञ्चालन गरेका छौं । हाम्रो नगरपालिकामा प्रदेशस्तरीय ५१ बेडको टीकापुर अस्पताल छ । उक्त अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गरिरहेका छौं । नगरभित्रका प्रत्येक वडामा स्वास्थ्य चौकीबाट शहरी स्वास्थ्य केन्द्र र खोप केन्द्रको व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेका छौं ।

नगरभित्र भूमिहीन सुकुम्वासीहरू बढी छन् । वि.सं. २०६२/०६३ को जन आन्दोलनपछि देशभरका भूमिहीन सुकुम्वासीलाई टीकापुरमा बसाउने काम गर्यो । त्यतिबेला राजनीतिक दलहरूले लालपुर्जा दिन्छौं भन्दै झुटो आश्वासन दिएर उहाँहरूलाई यहाँ बसाउने काम भयो । उहाँहरू हाल निजी क्षेत्रको जग्गामा बसी राख्नु भएको छ । यो यहाँको मुख्य समस्या छ । यो समस्या समाधान गर्नको लागि राष्ट्रिय भूमि आयोगसँग समन्वय भइरहेको छ । सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई जग्गा बाँड्ने प्रक्रिया अगाडि बढाएका छौं । जसका लागि जग्गा मूल्यांकन र जग्गाको प्रकृति छुट्याउने प्रक्रिया अघि बढेको छ ।

नगरको सीमाना भएर धेरै नदीहरू बग्छन् । हाम्रो नगर नदीहरूको संगम स्थल पनि हो । नेपालको सबैभन्दा लामो कर्णाली नदि पनि यहीँबाट बग्छ । उक्त क्षेत्रमा तटबन्ध नहुनाले ठूलो समस्या छ । एकतर्फको समस्या समाधान गर्ने बित्तिकै अर्कोतर्फ समस्या सिर्जना हुन्छ । बाढी तथा डुबानले गर्दा नागरीकले वर्षेनी त्रासमा जिन्दगी बिताउनु पर्ने बाध्यता छ । तटबन्ध गर्नको लागि ठूलो लगानीको आवशयकता छ । यसका लागि प्रदेशबाट पनि कुनै सुनुवाई हुन सकेन । बरु प्रदेशको भन्दा बढी काम स्थानीय तहले गरेका छन् ।

स्थानीय तहहरू जनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले स्थानीय तहले गरेको काम पारदर्शी हुन्छ । पालिकाको क्षमता अनुसार सबै स्थानीय तहले राम्रो काम गर्ने प्रयत्न गरिरहेका छन् । स्थानीय तहबाट जति काम कारबाही हुन्छ त्यसको अनुपातमा संघ र प्रदेश सरकारले काम गर्न सकेका छैनन् । उहाँहरूको बजेट कसरी आउँछ र त्यो बजेट कसरी कार्यान्वयन हुन्छ त्यति हाम्रो समन्वय पाटो पनि रहँदैन । स्थानीय तहले जसरी काम गरिरहेका छन् । त्यसरी संघ र प्रदेशले काम गर्ने हो भने देश छिटै सम्वृद्ध हुन्थ्यो । टीकापुर नगरपालिकाले स्थानीय स्रोतको पहिचान गर्दै करको दायरालाई बढाउँदै आर्थिक हिसाबले पनि सक्षम हुँदै जाने विषय तर्फ हाम्रो ध्यान केन्द्रित छ ।

हामीसँग निर्वाचनमा बेला पराजित हुनु भएका यहाँका अन्य राजनीतिक दलका नेताहरू प्रतिशोधको भावना बोकेको देखिन्छ । उहाँहरूमा म राजनीतिक प्रतिसोधको भावना साट्न खोजेको पाउँछु । किनभने काम गर्दै जाँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरिदिने जस्ता कार्य गर्दै आउनु भएको छ । वि.सं. २०४० मा आएको बाढीले यस नगरपालिकाभित्र ठूलो क्षति पुर्याएको थियो अहिले ४० वर्ष पुगिसकेको छ । बाढी पीडितलाई राज्य तथा अन्य संघ संस्थाले वितरण गरेको राहतको हिसाब गर्ने हो भने अर्बौं खर्बौं रुपैयाँ पुग्ला । हाम्रो नगरपालिका र एउटा संस्थाले पीडितलाई घर बनाएर दिने सम्झौता गर्यौं । सोही योजना अनुसार करिब एक करोड ३० लाख रुपैयाँमा ५० वटा घर बनाउने निर्णय गर्यौं । काम पनि अगाडि बढ्यो । तर, अख्तियारमा उजुरी परेर कामलाई रोक्नु पर्याे । जबकी हामी यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न खोजिरहँदा पनि समस्या आउँछ । कसैले अनियमितता गर्यो भने उजुरी पनि गर्नुपर्छ ।

सबै दलहरूको एकता हुन आवश्यक छ । गलत नियत छ भने जोकोही पनि कारवाहीको दायरामा आउनु पर्छ । हुन त म आफैं मैले गरेको कामबाट सन्तुष्ट छैन । किनभने हाम्रो लक्ष्य अनुसार काम भएको छैन । कतिपय अवस्थामा कानुन तथा प्राविधिक कारण रोकिएर काम गर्न सकिएको छैन । यहाँ सम्भावनाको क्षेत्रहरू धेरै छन् । ती सम्भावनालाई चुम्नका लागि हामीले विभिन्न बटम लाइनको निर्माण गरेका छौं । हामीले यो डेढ वर्षभित्रमा एउटा जगको तयार गरेका छौं । त्यसको नतिजा आउँन बाँकी छ । हामीले अहिले नै नतिजा खोज्न थाल्यौं भने नतिजा देखिँदैन । हामीले गरेको कामको ३ वर्षभित्रमा नतिजा देख्न पाइन्छ । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बिच एक किसिमको अन्तर बिरोध छ । यसलाई समाधान गर्नुपर्छ । कर्मचारीलाई उहाँहरूको व्यवस्था अनुसारको व्यवस्थापन गर्ने र कर्मचारीलाई काममा प्रभावकारी रूपमा लाउन सक्यो भनदेश विकासमा मद्दत पुग्छ ।

(टीकापुर नगरपालिका प्रमुख थारुसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.