अम्बानी श्रीलंकाको दूरसञ्चार कम्पनी किन्न इच्छुक

  २०८० पुष २९ गते १६:५५     विकासन्युज

काठमाडौं । ऋणमा डुबेको श्रीलंकाली सरकारले आर्थिक संकटलाई पार गर्न सरकारी कम्पनीहरूमा आफ्नो सेयर बेचिरहेको छ ।

श्रीलंका सरकारले धेरै क्षेत्रमा निजीकरण सुरु गरेको छ । यसै क्रममा श्रीलंका सरकारले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी पीएलसीको सेयर बेच्ने योजना बनाएको हो । आफ्नो कम्पनीको विस्तार योजनामा ​​काम गरिरहेका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले श्रीलंकाको सरकारी कम्पनी किन्न इच्छा देखाएका छन् ।

अम्बानीको नजर श्रीलंकाको सरकारी कम्पनीमा छ । रिलायन्सको कम्पनी रिलायन्स जियो श्रीलंकाको सरकारी टेलिकम कम्पनी पीएलसी किन्न इच्छुक छ । यस सम्बन्धमा श्रीलंका सरकारले सूचना जारी गरेको छ । जसअनुसार रिलायन्स जियोबाहेक अन्य दुई कम्पनीहरूले पनि चासो देखाएका छन् ।

श्रीलंका सरकारले यसका लागि १० नोभेम्बर २०२३ मा आवेदन आह्वान गरेको थियो, जुन १२ जनवरी २०२४ मा समाप्त भएको थियो । आवेदनको म्याद सकिएपछि श्रीलंका सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

रिलायन्स इन्डस्ट्रिज बाहेक, गोर्टुन इन्टरनेशनल इन्भेस्टमेन्ट होल्डिङ लिमिटेड र पेटिगो कमर्सियो इन्टरनेशनल एलडीएले श्रीलंकाको सरकारी दूरसञ्चार कम्पनी श्रीलंका टेलिकम पीएलसीको सेयर किन्न आवेदन दिएका छन् । भारतमा नम्बर वान टेलिकम कम्पनी बनेपछि रिलायन्स जियो अब श्रीलंकामा आफ्नो विस्तारमा ध्यान केन्द्रित गरिरहेको छ ।

भारतीय दूरसञ्चार बजारमा रिलायन्स इन्डस्ट्रिजको टेलिकम कम्पनी जियोको दबदबा छ । स्टेटिस्टाको रिपोर्टअनुसार जुन २०२३ सम्म, जियोसँग देशमा फिक्स्ड–लाइन टेलिकम अपरेटरहरूको ३२.८३ प्रतिशत सेयर थियो, जबकि वायरलेस ग्राहकहरूमा जियोको सेयर ३६ प्रतिशतभन्दा बढी छ । ब्रोकरेज कम्पनी बोफाका अनुसार जियो प्लेटफर्मको मूल्य १०७ बिलियन डलर छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.