मारुती सुजुकीका पाँच उत्पादनमा एक कार ईभी

  २०८० पुष २८ गते १४:५८     विकासन्युज

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले विद्युतीय कार उत्पादनका लागि गुजरात सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यस एमओयूअन्तर्गत चौथो लाइनको उत्पादन सुरु हुनेछ ।

मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले जग्गा प्राप्तिको काम पनि केही महिनामा सम्पन्न हुने बताए । सन् २०२८ देखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।

यस दशकको अन्त्यसम्ममा कम्पनीले उत्पादन गरेका ५ मध्ये १ कार विद्युतीय हुने कम्पनीको अनुमान छ ।

भगरवले भने, ‘अहिलेको अनुमानअनुसार सन् २०३०–३१ सम्म कुल उत्पादनको १५ देखि २० प्रतिशत विद्युतीय सवारीसाधन हुनेछ र यो एक लाइनको उत्पादनले सम्भव हुँदैन । यस्तो अवस्थामा यो लाइनको क्षमता पूरा भएपछि केही विद्यमान लाइनलाई ईभी लाइनमा परिणत गर्नुपर्ने हुन्छ ।’

कम्पनीले ब्याट्री उत्पादनलाई पनि स्थानीयकरण गर्न चाहन्छ । यो ईभीको स्वदेशी उत्पादनका लागि ठूलो चुनौती हो । भार्गवले यस्तो अवस्थामा मारुतीको नयाँ प्रविधिको ब्याट्री उत्पादनमा कम्पनीको ध्यान केन्द्रित रहेको बताए ।

ईभीको उत्पादन मागमा भर पर्ने भए पनि भार्गवले उत्पादित गाडीमध्ये आधा निर्यात हुने अपेक्षा गरेका छन् । मारुती सुजुकीले आर्थिक वर्ष सन् २०३१ सम्ममा ७.५ देखि ८ लाख युनिटको निर्यात क्षमता पुग्ने अपेक्षा गरेको छ ।

ईभी सवारीसाधन निर्माणसँगै कम्पनीले आफ्नो बढ्दो माग पूरा गर्न वैकल्पिकरूपमा जैविक इन्धनमा पनि ध्यान केन्द्रित गरिरहेको छ ।

भार्गवका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । जसले गर्दा विद्युतको माग पनि बढ्दै गएको छ । यसले कार्बन फुटप्रिन्ट बढाउँछ । हाइब्रिड प्रविधिमा ईभीको तुलनामा कम कार्बन फुटप्रिन्ट उत्पन्न हुन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.