अब नेपालका कलेजले गृहणी, कर्मचारी र राजनीतिज्ञलाई पढाउनु पर्छ

  २०८० पुष २० गते १३:०७     विकासन्युज

काठमाडौं । दिनहुँ नेपाली विद्यार्थी पढ्नका लागि बाहिर जानेको संख्या बढ्दैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने दृश्य र नो अब्जेक्सन लेटर (एनओसी) लिनेहरूको डाटाले यो प्रष्ट पार्छ । दिनहुँ सयौँ विद्यार्थी बाहिर जाँदा यसको असर कहाँ, कुन क्षेत्रमा पर्छ यो एउटा पाटो हो । अर्को, आजभोलि विद्यार्थी बाहिर जाँदा नेपालमा विद्यार्थी नै रहेनन्, कलेजले ब्याचलर्स पढ्ने विद्यार्थी नै पाएनन् भन्ने विषयहरु उठेका छन् । म यसलाई सामान्य तरिकाले लिन्छु ।

जनसंख्या घटेपछि विद्यार्थी घट्नु स्वभाविक हो । विद्यार्थी बाहिरिनु पनि सामान्य तरिकाले लिन सकिन्छ । किनभने हातखुट्टा लागेपछि मान्छे हिँड्छ । मलाई विद्यार्थी पढ्न जानु, पढ्न आउनु त्यस्तो छुट्टै केही हो जस्तो लाग्दैन । हरेक देशका विद्यार्थी बाहिर जान्छन् । कतिपय विदेशका विद्यार्थी पनि पढाइको लागि नेपाल आएका छन् । अब गर्नुपर्ने काम के हो भने ती बाहिर गएका विद्यार्थीलाई हाम्रा विद्यार्थी बनाउने कसरी हो ? यो बारेमा हाम्रा विश्वविद्यालय र कलेजहरूले ठ्याक्कै बुझेनन् । त्यो भनेको प्रविधिको प्रयोग हो । विद्यार्थीले कक्षामै उपस्थिति जनाउनुपर्छ भन्ने होइन । जुममा आए के हुन्छ ? मीटमा आए के हुन्छ ? अथवा जेमा उनीहरूले उपस्थिति जनाउँछन् त्यसलाई उपलब्धि मान्नुपर्छ । मलाई के लाग्छ भने अन्तर्राष्ट्रिय जगतमा छरिएका विद्यार्थीलाई प्रविधिमार्फत कसरी पढाउने भन्ने विषयमा अब सोच्नुपर्छ । यो विषय अहिलेसम्म हाम्रा नेतृत्वको दिमागमा पसेको छैन । अब भने पस्नुपर्छ ।

दोस्रो, विद्यार्थीहरू छैन भनेपछि अब अरू विद्यार्थी बनाउनुपर्छ । यसमा दुईवटा बाटो हुनसक्छ, एउटा बाटो के हुन्छ भने विद्यार्थी भनेको नियमित रुपमा यति उमेर पुगेको, यि मान्छे मात्र कलेज पढ्छन् भन्ने चिन्तन छोड्नुपर्यो । भर्खरै त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा रोल्पाकी बमकुमारी बुढा दीक्षित हुनुभयो । उहाँले ७२ वर्षको उमेरमा एमए पास गर्नुभयो । सबैलाई थाहा छ भनेपछि अब त्यसको सट्टा के गर्नुपर्यो भन्दा हाम्रो दशेमै भएका मान्छेहरूलाई पढाउन सुरु गर्नुपर्यो ।

अब नेपालका कलेजले गृहणी, राजनीतिज्ञ, कोही अर्थशास्त्री होलान अब तिनीहरूलाई पढाउने अभ्यास सुरु गर्नुपर्छ । त्यस्तै अर्को बाटो के हो भने अन्तराष्ट्रिय जगतमै भएका जस्तो खाडी, युरोप अमेरिका गएका मान्छे छन्, उनीहरू त्यहाँ आफै पैसा तिरेर पढ्न सक्दैनन् । अहिलेसम्मको तथ्यांकले के भन्छ भने विदेश पढ्न जाने भन्दै गएका १० प्रतिशत विद्यार्थीमात्र त्यहाँ पढ्न थालेका होलान् बाँकी काम गरेर पैसा कमाउँछन् भनेको छ । त्यसो हो भने त्यस्ता विद्यार्थीलाई पढाउनको लागि नेटको प्रयोग गर्नुपर्ने वा अन्तर्राष्ट्रिय जगतको तर्फबाट उपयोग गर्ने तरिका गर्नुपर्छ त्यो अर्को पाटो हो ।

अर्को बाटो मैले के देख्छु भने युरोपले विद्यार्थी पाउन छोड्यो, उसले अन्तराष्ट्रिय जगतका मान्छे बटुल्न थाल्यो । अमेरिकाले विद्यार्थी पाउन छोड्यो । अस्टे«लियाको पनि हालत त्यही हो । अब हामीले विद्यार्थी ल्याउने नयाँ गन्तव्य खोजी गर्नुपर्छ । यसका लागि बाहिरका विद्यार्थीलाई ल्याउने एउटा तरिका होला उनीहरूलाई अनलाईन कोर्श दिने अर्को तरिका हुन सक्छ । जस्तै मानौं नेपालका जडिबुटीका बारेमा अनलाइन कोर्शहरू बनाएर युरोप अमेरिका भरिका विद्यार्थी हामीले बटुल्न सक्दैनौं ? त्यो बारेमा सोच्नुपर्छ । यसरी सोच्यौँ भने हामी सही बाटोमा पुग्छौँ ।

विद्यार्थी बाहिर जाँदा अहिले अनेक तरिकाले बहस र विश्लेषण हुन थालेका छन् । नेपालमा जागिर भएन, राम्रो शिक्षा भएन भनेर बहस गर्नुभन्दा अब विकल्प के त ? भन्नेबारे ध्यान दिनुपर्छ । अब के गर्नुपर्छ भन्दा हामीसँग एनआरएनए छ, त्यो एनआरएनएसँग हाम्रा कलेजका साथीहरूले बस्नुपर्यो । एनआरएनए अफ्रिका, एनआरएनए एशिया भन्ने फरक फरक च्याप्टर छन् । त्यहाँ को, को मान्छे आवद्ध छन् भन्ने उहाँहरूसँग सिंगो जानकारी छ । ती मान्छेको शैक्षिक योग्यता कति हो, उनीहरूले पढ्न खोजेको कति, पढिरहेको कति भनेर विस्तृतमा जानकारी लिन सकिन्छ । यसो गरिसकेपछि बल्ल उनीहरूसँग काम ग¥यो भने विद्यार्थी नपाउने भन्ने हुँदैन ।

विद्यार्थी नै छैन भने अब अनौपचारिक कोर्सहरू पढाउन सुरु गरौँ । कर्मचारी, पत्रकार, हामी शिक्षक, प्राध्यापकहरू, राजनीतिज्ञहरूलाई पढाऔँ । किनभने नेपालमा उहाँहरूलाई अद्यावधिक गर्नुपर्ने जरुरी छ । अहिले अन्तर्राष्ट्रिय जगतमा हेर्यौं भने ‘इ-लर्निङ र्थी सिक्स्टी’ भन्ने मुमेन्ट चलिरहेको छ । यो भनेको विश्वभरका मान्छेलाई २४ सै घण्टा पढ्न पाउने तरिकाले गर्नुपर्ने हो । ‘इ-लर्निङ र्थी सिक्स्टी’ को भाषा के हो भने, स्कुल कहाँ हुन्छ, कलेज कहाँ हुन्छ, मान्छे कहाँ हुन्छ, कुन ठाउँमा भवन छ छैन, ल्याव छ छैन भन्नेको केही अर्थ छैन । अब ल्याब पनि हुँदैन, ल्याब्रोटरी पनि हुँदैन अब इ-लर्निङबाट ३ सय ६० डिग्रीमा जहाँसुकै जहिलेपनि जहाँबाट पनि पढ्छ । खाँदा, बस्दा, उठ्दा, हिँड्दा जतिखेर जसरी पनि पढ्न पाउँछ । स्कुल, कलेज चाहिँन्छ यही आउनुपर्छ वा यिनकै विद्यार्थी हुनुपर्छ भन्ने होइन । यसरी चिन्तन गराइदिन सकियो भने मान्छे नपाउने समस्या पनि हुँदैन, हाम्रो स्कुल कलेजका साथीहरूले जुन ढंगले बुझिरहनुभएको छ त्यो पनि उल्टो फर्किन्छ । अर्को भाष्य खडा हुन्छ ।

विद्यार्थी बाहिर पढ्न जानु सामान्य कुरा हो । घरमा जागिर छैन, कमाउन जानुप¥यो । अब हामीले सोच्नुपर्ने के हो भने पढदै कमाउँदै वा कमाउँदै पढ्दै गर्ने किसिमको अभ्यास गर्न सक्नुपर्छ । हामीले के बुझिरहका छौं भने वर्षभरीमा १ लाख २३ हजार विद्यार्थी गए । जुन, अहिलेसम्मको तथ्यांकले भन्छ । यदि १ लाख २३ हजार मान्छे बाहिर गए भने, पाँच लाख विद्यार्थी बजारमा आएका छन् ।

पाँच लाख मान्छेमा १ लाख २३ हजार घटेपनि झण्डै चार सवा चार लाख विद्यार्थी हामीसँग छन् । अब हामीले बाहिर गए भनेर चिन्ता गर्नुभन्दा चिन्तन गर्नुपर्छ ।

विदेश जाने बित्तिकै उसले आफुले कमाउनुपर्छ, आफैले कमाएर पढ्न सक्दैनन्, त्यहाँ सामुदायिक कलेजमा भर्ना हुन्छन् । सामुदायिक कलेजका सबै कोर्शहरूले मान्यता पाउँदैनन् । मान्यता पाउने कोर्श पास गर्न ५/६ वर्ष लगाउँछन् । विदेशमा भनेजस्तो सजिलो छैन । बरु यो अवस्थालाई बदलौँ ।

अब विद्यार्थी गए भन्ने सोच नगरौँ । देशमै झण्डै ७२/७३ लाख विद्यार्थी छन् । अब उनीहरूबारे सोचौँ । यिनलाई गरिखाने बनाउने कसरी भन्नेबारे चिन्तन गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.