कोरियाले नेपाली कामदारलाई रोक लगाउन सक्छ ?

  २०८० पुष १७ गते १७:५०     नारायण अर्याल

काठमाडौं । इम्प्लोमेन्ट परमिट सिस्टम (ईपीएस) भाषा परीक्षाको विषयलाई लिएर नेपालमा भएको आन्दोलन, घट्नाक्रम र अदालतको आदेशको विषयलाई लिएर दक्षिण कोरियाली राजदूतले आश्चर्य प्रकट गरेका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँगको भेटमा नेपालको घट्नाक्रमबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिएको मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए ।

सचिव भण्डारीका अनुसार मन्त्रालयको प्रतिनिधिमण्डलले नेपालमा भएका घट्नाक्रम र अदालतले जारी गरेको आदेशका विषयमा जानकारी गराएको थियो । तर, कोरियाली राजदूतले भने सो विषयमा कुनै ठोस प्रतिक्रिया दिएका छैनन् ।

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्छ भनेर नेपालमा भएको आन्दोलनलाई कोरियाले संवेदनशील रुपमा लिनसक्ने सचिव भण्डारीको अनुमान छ । कोरियाले ईपीएस प्रणालीमार्फत १६ वटा देशबाट वर्षेनी कामदार लैजाने गरेको छ । सबै देशबाट कामदार लैजाने प्रकृया एउटै छ ।

नेपालमा एउटा भाषा परीक्षामा सहभागी भएकाहरूले पुनः अर्को भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने भन्दै युवाहरूले गरेको आन्दोलन कोरियाले अबलम्बन गरेको नीति अनुकुल देखिँदैन ।

‘कोरियाले १६ वटा देशबाट कामदार लैजान्छ, अरु देशमा पनि एउटा परीक्षामा सहभागी भएका व्यक्तिहरु अर्को परीक्षामा सहभागी हुन पाउँदैनन्,’ सचिव भण्डारीले विकासन्युजसँग बताए ।

भाषा परीक्षाको विषयलाई लिएर नेपालमा मंसिरदेखि नै युवाहरूले आन्दोलन गर्दै आएका छन् । मन्त्रालयका सचिव भण्डारीका अनुसार डिसेम्बर २० देखि कार्यकाल सकिएर ईपीएस शाखाका प्रमुख फिर्ता गइसकेका छन् । त्यसपछि कोरियाले तत्कालै प्रमुख पठाउनुपर्नेमा पठाएको छैन । नेपाली मजदुरप्रति आकर्षित भएर कोटा बढाउँदै गएको कोरिया कतै पछिल्ला घट्नाक्रमबाट तर्सेको त छैन भन्ने प्रश्न उठेको छ ।

‘हामीले यो विषयलाई संवेदनशील रूपमा लिएका छाैं, कोरिया पक्षसँग छलफललाई अगाडि बढाइसकेका छाैं,’ सचिव भण्डारीले भने ।

पाटन उच्च अदालतले एउटा भाषा परीक्षामा सहभागी भएकालाई अर्को परीक्षाको पनि फर्म भर्न दिन भनेर आदेश दिएको छ । नेपालको ईपीएस शाखाले अदालतको उक्त आदेशलाई कार्यान्वयनमा पनि ल्याइसकेको छ । तर, कोरियाले अदालतको उक्त आदेशलाई कसरी लिन्छ भन्ने विषयमा भने अझै कुनै औपचारिक जानकारी आइसकेको छैन ।

कोरियाको भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर नेपालमा भएको आन्दोलन, मुद्दा र अदालतको आदेशलाई रोजगारदाता निकायले कामदार लैजानकै लागि आफ्नो प्रणालीमा हेरफेर गर्‍यो भने मात्रै सम्बोधन हुनसक्ने देखिन्छ ।

‘काममा लैजाने मान्छे आन्दोलनमा भएको देख्दा उसले कसरी लिन्छ, यो निकै संवेदनशील देखिएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले विकासन्युजसँग भने ।

एउटै व्यक्ति दोहोरो भाषा परीक्षामा सहभागी हुने विषयलाई कोरियाले अस्विकार गर्‍यो भने आगामी दिनमा हुने म्यानुफ्याक्चरिङ तर्फको भाषा परीक्षा नै अनिश्चित हुन समेत सक्ने देखिन्छ । मन्त्रालयका सचिव भण्डारीले भने आफूहरुले छलफलको सुरुवात गरिसकेकाले निराश हुन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.