प्राधिकरणले बिजुलीको लाइन काट्दा दैनिक अढाई करोड नोक्सान भइरहेको छ : अग्रवाल

  २०८० पुष ९ गते २०:०५     विकासन्युज

काठमाडौं । शंकर ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवालले नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्दा जगदम्बा स्टिललाई दैनिक अढाई करोड रुपैयाँ नोक्सान भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्राधिकरणले बिजुली काटेपछि उद्योगमा सो रकम बराबर दैनिक घाटा भइरहेको बताएका हुन् ।

‘हाम्रो उद्योगबाट दैनिक डेढदेखि दुई हजार टन स्टिल उत्पादन हुन्छ, त्यसमा ४० देखि ४५ मेगावाट विद्युतको खपत हुन्छ, प्राधिकरणले विद्युत काटेपछि अहिले काम ठप्प छ, ’ उनले भने ।

प्राधिकरणले उद्योगको बिजुली काटेसँगै उद्योगमा कार्यरत साढे ३ हजार मजदुरले प्राधिकरणको विद्युत सबस्टेशनमा मंगलबारबाट धर्ना गर्ने योजना रहेको पनि अग्रवालले जानकारी दिए ।

अग्रवालले उद्योगमा विद्युत नभए भोलिको दिनमा स्टिलको अभाव हुने बताए । प्राधिकरणका अनुसार जगदम्बा स्टिलले ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

गत भदौमा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने व्यवसायीको लाइन काट्न प्राधिकरणलाई रोकेका प्रधानमन्त्री दाहालले नै बिहीबार भने लाइन काट्न निर्देशन दिए पश्चात् उद्योगमा लाइन काट्न सुरु भएको हो ।

प्राधिकरणले ९ वटा उद्योगको बिजुली काटी सकेको छ । विद्युतको महसुल नबुझाउने ५० करोड रुपैयाँभन्दा बढी बक्यौता भएका उद्योगको लाइन काट्दै जाने प्राधिकरणले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.