प्राधिकरणले काट्यो जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँचीको विद्युत् लाइन

  २०८० पुष ७ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विभिन्न ४ वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका ४ वटा ठूला उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको हो । डेडिकेटेड लाइन वापत जगदम्बाले ४ अर्ब १४ करोड रुपैयाँ, रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टको १ अर्ब ३६ करोड रुपैयाँ र अर्घाखाँचीले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियान चलाएको छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.