त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोह आज, साढे १२ हजार विद्यार्थी दीक्षित हुने

  २०८० पुष २ गते ७:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज सोमबार हुँदैछ । समारोह बिहान साढे ११ बजेबाट दशरथ रङ्गशालामा सुरु गरिने त्रिविले जनाएको छ ।

बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गरिने भएको हो । ४९ औँ दीक्षान्त समारोह प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि हुने भएका छन् ।

यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुने भएका छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो ।

यसैबिच दीक्षान्त समारोहका लागि पार्किङ स्थल पनि तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वल्र्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो ।

टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ । त्यस्तै विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधनहरू, वल्र्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.