पुँजीगत खर्चमा सुध्रिएन सरकार, चार महिनामा १० प्रतिशत मात्रै खर्च

  २०८० मंसिर १० गते १०:४३     विकासन्युज

काठमाडौं । विगतमा जस्तै चालु आर्थिक वर्ष(आव)मा पनि सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार आउन सकेको छैन । चालु आर्थिक वर्षको झण्डै साढे चार महिना समय बित्दा सरकारले पुँजीगत खर्च लक्ष्यको जम्मा १०.०२ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । सोही तत्थ्यांकका आधारमा अनुमान गर्ने हो भने सरकारले चालु आर्थिक वर्षमा पुँजीगत शिर्षकमा छट्याएको एक तिहाई बाहेक रकम मात्रै खर्च गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवमा पुँजीगत खर्चका लागि तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रकम बिनियोजन गरेको थियो । जसमध्ये सरकारले शनिबारसम्म ३० अर्ब २७ करोड ८९ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

सरकारले चालु खर्च र वित्तीय खर्चमा पनि चालु आवमा लक्ष्य अनुसार खर्च गर्न सकेको देखिँदैन । शनिबारसम्म सरकारले चालु खर्चमा कुल विनियोजित बजेट मध्ये २४.४ प्रतिशत रकम मात्रै खर्च गरेको छ भने वित्तीय शिर्षकमा विनियोजित बजेट मध्ये १७.७५ प्रतिशत खर्च गरेको छ ।

चालु आवका लागि सरकारले चालु खर्च शिर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रकम विनियोजन गरेको थियो, जसमध्ये शुक्रबारसम्म दुई खर्ब ७८ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । त्यस्तै, वित्तीय क्षेत्रमा विनियोजित तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख मध्ये सरकारले शनिबारसम्म ५४ अर्ब ५५ करोड ८४ लाख रकम मात्रै खर्च गर्न सफल भएको छ ।

आम्दानीको तुलनामा खर्च धेरै

सरकारले चालु आवको हालसम्म खर्चअनुसारको आम्दानी गर्न नसकेको देखिन्छ । शनिबारसम्म सरकारले तीन खर्ब ६३ अर्ब ४२ करोड ७२ लाख खर्च गरेको छ, आम्दानी जम्मा तीन खर्ब १२ अर्ब ९४ करोड ३७ लाख मात्रै गरेको छ ।

सरकाले चालु आवको हालसम्म लक्ष्यको २१.२५ प्रतिशत मात्रै आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले चालु आवमा आम्दानी र अनुदानमार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड ७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.