दाजुभाइको दोस्ती, सरकारको तक्मा

  २०८० मंसिर ७ गते १८:०२     विकासन्युज

काठमाडौं । बिहीबार सरकारले सबैभन्दा बढी कर तिरेको भन्दै १६ वटा व्यक्ति तथा संस्थालाई सम्मान गर्‍यो। सम्मानित हुनेमा ढकाल दाजुभाइ पनि परे । बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आइएमई बैंकलाई सम्मानित गर्यो भने रेमिट्यान्स क्षेत्रतर्फ बढी कर तिरेको भन्दै आईएमई रेमिटलाई सम्मान गर्‍यो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको नेतृत्व गरिरहेका छन् भने नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकाल आइएमई रेमिटका सञ्चालक तथा को-फाउण्डर हुन् ।

उनीहरू दुवै दाजुभाइले सँगै सम्मान थापेका छन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल दाजुभाइ हुन् ।

नेपाली उद्योग व्यवसायी क्षेत्रमा एउटा नयाँ उदाहरण बनेका ढकाल दाजुभाइले सरकारलाई उच्च कर तिरेर नयाँ उदाहरण पस्केका छन् । सम्भवतः बढी कर तिरेर सरकारबाट सँगै सम्मानित हुने दाजुभाइमा ढकाल दाजुभाइ नै पहिलो हुनुपर्छ ।

व्यावसायिक जीवनमा एकपछि अर्को सफलता हासिल गरिरहेको ढकाल दाजुभाइले आइएमई ग्रुपमार्फत् व्यवसाय विस्तार गरिरहेको छ । एउटा सामान्य किसानको छोराबाट सुरु भएको ढकाल दाजुभाइको व्यवसाय अहिले देशभर फैलिएको छ ।

दुवै दाजुभाइ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत आधा दर्जनभन्दा बढी कम्पनीको संस्थापक छन् भने अन्य धेरै कम्पनीहरूमा उनीहरूको लगानी छ । बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल दाजुभाइको व्यवसायिक सुरुवात भने वि.स २०४८ सालबाट भएको हो ।

अध्यक्ष ढकालले वि.स २०४८ सालमा कोल्ड स्टोर स्थापना गरेपछि उनको परिवारको व्यवसाय सुरु भयो । उनले त्यसपछि कार्गो व्यवसायमा हात हाले । चन्द्र ढकालभन्दा उमेरले १० वर्ष कान्छा हेमराज उनका व्यवसायका सारथी हुन् ।

‘सानैदेखि सँगै काम गर्याैं, धेरै मिहिनेत गर्‍यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टिमले गर्छ,’ ढकालले यसअघि विकासन्युजसँग भनेका थिए, ‘मेरो सफलतामा मेरो टिमको भूमिका महत्वपूर्ण छ ।’

ढकाल दाजुभाइ अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनीहरूले रेमिट्यान्स, बैंक, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी गर्‍यो, त्यसमा उनीहरू सफल बनिरहेका छन् ।

आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।

वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैंक, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी छ । यी कम्पनीहरूको संस्थापक नै ढकाल दाजुभाइ हुन् ।

यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा.लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आइएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता छ ।

अन्य धेरै कम्पनीमा आइएमई ग्रुपको लगानी छ । यी कम्पनीहरूमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरूको पुँजी ३० अर्ब बढीको छ ।

आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । जसको नेतृत्व हेमराज ढकालले गरिरहेका छन् । ढकाल दाजुभाइलाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । यस्तै, अहिले आइएमई ग्रुपले पेपर उत्पादनमा पनि हात हालेको छ ।

व्यावसायिक जीवनमा सफल भएसँगै ढकाल दाजुभाइ व्यवसायीहरूको छाता संस्थाको नेताको पनि अग्रपंत्तिमा छन् । दाजु चन्द्र हाल महासंघको नेतृत्व गरिरहेका छन् भने भाइ हेमराज नेपाल उद्योग परिसंघको नेतृत्वको लाइनमा छन् ।

आइएमई ग्रुपले सुरु गरेको व्यवसायले त्यो क्षेत्रकै नेतृत्व गरिरहेको छ । बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकले नेतृत्व गरिरहेको छ । ग्लोबल आइएमईले हाल सबैभन्दा ठूलो बैंकको परिचय बनाएको छ भने रेमिट क्षेत्रमा आइएमई रेमिट विश्वासिलो रेमिट्यान्स कम्पनीको रूपमा उदाएको छ । पर्यटनतर्फ चन्द्रागिरि हिल्स प्रख्यात छ । व्यवसायमा पारदर्शिता मन पराउने ढकाल अहिले अर्बपतिको लाइनमा रहेको बुझाइ धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.