सडकमा अशान्ति हुँदा शान्ति क्षेत्र विद्यालयमा असर

  २०८० मंसिर ७ गते १६:५५     इन्द्रसरा खड्का

काठमाडौंको अनामनगरकी ज्योतिका पाण्डे बिहीबार बिहानै उठिन् । अघि पछिजस्तै छिट्टै खाना पकाएर छोरीलाई विद्यालयको लागि तयार गर्न लागिन् । खाना पकाइवरी छोरीलाई तयार पार्न लाग्दा अचानक मोवाइलमा म्यासेज आयो । म्यासेज थियो छोरीको विद्यालयबाट ।

‘आदरणीय अभिभावकज्यू, काठमाडौंका विभिन्न ठाउँहरूमा विभिन्न समूहद्वारा र्‍याली जुलुस तथा प्रर्दशनका कार्यक्रम हुने भन्ने बुझिन आएकोले ट्राफिक प्रहरीले समेत सवारी आवागमनमा असहजता हुनसक्ने जानकारी गराएको र उक्त असहज परिस्थितिलाई मध्यनजर राख्दै आज विद्यालयको सम्पूर्ण पठन-पाठनकार्य बन्द रहने छ ।’

यो म्यासेज हेरिसकेपछि उनले छोरीलाई तयार पार्न छाडिन् । ज्योतिकाकी छोरी पिरीसा अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कूलमा एलकेजीमा अध्ययनरत छिन् ।

‘आफू पनि काममा जानुपर्छ छोरीलाई पनि स्कूल पठाउनुपर्छ भनि बिहानै उठेँ छोरीको त विद्यालय बन्द रहेछ, म्यासेज आएपछि थाहा पाए छोरीलाई घरमै राखी म आफ्नै काममा हिँडे,’ ज्योतिकाले विकासन्युजसँग भनिन् ।

काठमाडौंको कलंकीकी प्रतिमा खड्काले पनि बिहीबार छोरालाई घरमै बसाउनुपर्‍यो । उनका छोरा कलंकीको नेपालय स्कूलमा कक्षा तीनमा अध्ययनरत छन् ।

‘मलाई त आज विद्यालय किन बन्द भयो भन्ने समेत थाहा थिएन, छोरालाई लिएर स्कूलमै पुगें, आज त विद्यालय बन्द छ भन्ने सुनेपछि फर्केर आएँ,’ उनले भनिन् ।

बिहीबार काठमाडौं उपत्यकाका धेरैजसो विद्यार्थी र अभिभावक यसैगरी झुकिए । आज काठमाडौं शान्त र अशान्त दुवै रह्यो । शान्त सडकमा गाडी बाक्ला चलेनन्, मान्छेको आवतजात पातलो थियो । तर अशान्त, ठाउँ-ठाउँमा नाराजुलुस र प्रदर्शनले गर्दा रह्यो ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलले फरक-फरक गरेको ठाउँमा गरेकोे प्रदर्शनको असर विद्यालयमा पर्‍यो  जसका कारण उपत्यकाको रिङरोडभित्रका धेरै जसो विद्यालय बन्द भए ।

आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालिमाटी, कलंकी, बल्खु, चक्रपथलगायत क्षेत्रका सबैजसो स्कूल प्रभावित भएका छन् । आन्दोलनकारीको भीड र आन्दोलनका कारण बालबालिकालाई तनाव हुने भएकाले विद्यालय बन्दको उपाय रोजिएको विद्यालय सञ्चालकहरूले बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले आन्दोलनकै कारण उपत्यकाका चक्रपथभित्रका दुई सय बढी विद्यालय बन्द भएको बताए । ढुंगानाले प्याब्सनले आन्दोलन प्रभावित क्षेत्रका विद्यालय बन्दका लागि स्वनिर्णय गर्ने अधिकार दिइएकाले विद्यालय आफैंले बन्द गरेको बताए ।

‘हिजोदेखि उपत्यकामा डर लाग्दो अवस्था हुन्छ भन्ने सबैलाई लागेको थियो, आजपनि बल्खुको अवस्था देखिहाल्नुभयो, यस्तो बेला विद्यार्थीलाई बोलाउन सक्ने अवस्था नभएर पनि विद्यालय बन्द गर्नुपर्‍यो,’ उनले भने ।

धेरैजसो विद्यालयले विद्यालयकै गाडीबाट विद्यार्थी ल्याउने लैजाने गर्छन् । तर, आज प्रहरीले नै गाडी नचलाउन भनेपछि बाध्यताले विद्यालय बन्द गर्नुपरेको विद्यालय सञ्चालकहरूको भनाइ छ ।

विद्यालयलाई असर

राजनीतिक, सामाजिक कुनैपनि दल वा व्यक्तिले गरेको असर सबैभन्दा पहिले शिक्षा क्षेत्रमा पर्छ । सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको १२ वर्ष भयो । वि.सं २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालयको हाताभित्र वा विद्यालय वरिपरी कुनैपनि ¥याली, जुलुस नाराबाजी गर्न नपाइने व्यवस्था सरकारले गरेको थियो ।

विद्यालय हाताभित्र यस्ता कार्य नगर्नु र हिंसात्मक कार्यमा बालबालिकाको प्रयोग नगर्नु भनिए पनि यस्ता किसिमका प्रदर्शन वा आन्दोलनको प्रत्यक्ष असर विद्यालयमा पर्ने गर्छ ।

नेपालको संविधानले बालबालिकाको शिक्षा तथा स्वास्थ्यको सुनिश्चितता गरेको छ । बालबालिका भविष्यका कर्णधार भन्ने नारालाई सार्थकता प्रदान गर्न उनीहरूको चौतर्फी विकासका लागि बाल अधिकारसँग सरोकार राख्ने गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यको सहज सुनिश्चितता आधारभूत शर्त हो ।

तर, कुनै न कुनै कारण कहिले न कहिले बालबालिकाका आधारभूत शर्तमा असर परेको विज्ञहरूको भनाइ छ । कसैले कार्यक्रम गर्दा पनि विद्यालय बन्द गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको शिक्षाविद्हरु बताउँछन् । संविधानले दिएको र कानुनले प्रदत्त गरेको बालबालिकाको अधिकार हनन् हुनु हाम्रो र समाजकै लागि सुभ संकेत नभएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.