कञ्चजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे

  २०८० मंसिर ३ गते १५:३३     विकासन्युज

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण  करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा  सय जना विदेशी पर्यटक आएका छन् ।

यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गरेको उनले बताए । असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ ।

गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनामा चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए ।

आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छैन । पर्यटकको आगमनले कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । वर्षको दुई  याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.