इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै, विदेशी लगानी भित्रिने अपेक्षा

  २०८० मंसिर १ गते १५:३१     विकासन्युज

काठमाडौं । निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एसियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का)को ४६औं अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारा सहित काठमाडौंमा हुन लागेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार सो सम्मेलन हायात होटलमा मंसिर ५ गतेदेखि ९ गतेसम्म हुनेछ । सम्मेलनको औपचारिक उद्घाटन भने ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताइएको छ ।

सम्मेलनमा एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका प्रतिनिधिहरूको सहभागिता रहने महासंघले बताएको छ । महासंघका अनुसार स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने छ ।

महासंघले ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ आयोजना गर्नेछ । ६ गते राष्ट्रपतिबाट सम्मेलनको औपचारिक उद्घाटन भएपछि जनरल एसेम्बली सहित विभिन्न कमिटीहरूको बैठक आयोजना गरिने बताइएको छ ।

सम्मेलनमा ७ गते बिहान आयोजना हुने पार्टनरिङ इन सस्टिनेबल इन्फास्ट्रक्चर इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले बताएको छ । सोही दिन सम्मेलनमा सहभागीहरू बसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमण जाने र दोस्रो दिन एक्जिक्यूटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिर्डस् कार्यक्रम आयोजना गरिने बताइएको छ ।

यसै दिन गोकर्ण गल्फ मैदानमा एफक्यान-इफाप्का गल्फ कार्यक्रम राखिएको छ । मंसिर ८ गते दोस्रो जनरल एसेम्बली, नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।

सम्मेलन मार्फत गत वर्षदेखि इफाप्काको अध्यक्ष सम्हालिरहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्नेछन् । विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष रवि सिंहले बताए ।

बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने अपेक्षा महासंघले राखेको छ । सम्मेलनका क्रममा १० लाख डलर भन्दा बढी रकम नेपाल भित्रने अनुमान गरेको पनि सिंहले बताए ।

‘हामी सम्मेलनमा पूर्वाधार विकाससँग सम्बन्धित रहेर छलफल गर्ने छौं, एक अर्को देशको प्रविधि हस्तान्तरणमा पनि सम्मेलनमा मद्दत पुग्नेछ, वातावरणको संरक्षण गर्दै दीगो पूर्वाधार विकास कसरी गर्न सकिन्छ भन्ने उद्देश्य पनि सम्मेलनको हो,’ अध्यक्ष सिंहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.