राजस्वमा आयकरको योगदान दोब्बरले बढ्यो, जरिवानामा पर्नेहरू पनि बढ्दै

  २०८० मंसिर १ गते १२:२८     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले कुल राजश्वमा आयकर र मूल्यअभिवृद्धि कर (भ्याट)को योगदान बढेको छ । विभागले आर्थिक वर्ष २०७९/८० मा कुल राजश्वमा आयकरको योगदान दोब्बरले र भ्याटको केही अंशले योगदान बढेको बताएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजस्वको शीर्षकगत असुलको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको ४४.५२ प्रतिशत छ भने त्यसपछि मूल्य अभिवृद्धि करको योगदान २४.५० प्रतिशत रहेको विभागको भनाइ छ ।

यस्तै, अन्तःशुल्कको आन्तरिक राजस्वमा योगदान २१.६७ प्रतिशत रहेको छ भने ब्याजकरको योगदान ६.८७ प्रतिशत र बहाल करको योगदान ०.६४ प्रतिशत रहेको छ । यस्तै, कुल करमा स्वास्थ्य सेवा शुल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शुल्कको अंश ०.४२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा कुल राजश्वमा आयकरको योगदान २६.४३ प्रतिशत, भ्याटको ३१.९३ प्रतिशत, अन्तशुल्क १६.९५ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९/०८० मा कुल राजस्व ९ खर्च ५७ अर्ब रुपैयाँ असुल भएकोमा आन्तरिक राजस्व विभागको योगदान ४ खर्च ७९ अर्ब रहेको विभागको भनाइ छ । जुन कुल राजस्व असुलको करिब ५०.१२ प्रतिशत हो ।

आर्थिक वर्ष २०७९/०८० का लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ लक्ष्य तोकिएको थियो । विभागबाट सो आर्थिक वर्षमा ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको बताएको छ । लक्ष्यको तुलनामा ७६.५७ प्रतिशत प्रगति भएको विभागको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजस्वको जम्मा राजस्व सङ्कलनको कार्यालयगत राजस्व सङ्कलन हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यम स्तरीय करदाता कार्यालयको ४ प्रतिशत, आन्तरिक राजस्व कार्यालयहरूको ५३ प्रतिशत र करदाता सेवा कार्यालयहरूको ४ प्रतिशत रहेको देखिन्छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० मा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता (बि–पान न.) तर्फ १ लाख ४२ हजार ६९९ करदातालाई करको दायरामा ल्याई २०८० आषाढ मसान्त सम्ममा व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाता संख्या १८ लाख ७६ हजार २०५ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पि–पान.) तर्फ आर्थिक वर्ष २०७९/०८० मा ६ लाख १३ हजार ४८३ करदाता करको दायरामा आएर व्यक्तिगत स्थायी लेखा नम्बर तर्फ कुल करदाता संख्या ३६ लाख ४९ हजार ६१४ पुगेको विभागको भनाइ छ ।

यस्तै, २०८० आषाढ मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको कुल सङ्घख्या ४५ लाख २५ हजार ९१९ पुगेको छ ।

नेपालमा आन्तरिक रूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर प्रशासन गर्दै आयको छ । यस विभाग अन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यम स्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय समेत गरी जम्मा ८४ वटा कार्यालय सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.