डिजेल/पेट्रोलियम गाडीको विकल्प हाइड्रोजन गाडी हो : प्रा.डा. बिराजसिंह थापा

  २०८० कार्तिक २२ गते ११:०९     विकासन्युज

काठमाडौं विश्वविद्यालयले लामो समयदेखि हाइड्रोजन इन्धनको उत्पादन, भण्डारण, प्रयोग, हाइड्रोजन इन्जिन र नीतिगत पक्षमा अनुसन्धान तथा काम गर्दै आएको छ । पछिल्लो समय विश्वमै पेट्रोलियम इन्जिनलाई प्रतिस्थापन गर्ने खोजमा विद्युतीय र हाइड्रोजन इन्जिन विकल्पको रुपमा देखिएको छ । विशेषगरी पानी र बिजुलीको प्रयोगबाट उत्पादन गर्न सकिने हाइड्रोजनको नेपालमा राम्रो व्यवसायिक सम्भावना समेत देखिएको छ । नेपालमा पनि हाइड्रोजन इन्धनबाट सञ्चालन हुने पहिलो विद्युतीय कार भित्रिएको छ । काठमाडौं विश्वविद्यालयले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । यही विषयमा काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा बिराजसिंह थापासँग विकासन्युजका लागि नारायण अर्यालले कुराकानी गरेका छौं ।

हाइड्रोजन इन्जिनयुक्त गाडी भनेको के हो ?

हाइड्रोजन इन्जिनयुक्त गाडी भनेको एक प्रकारको इलेक्ट्रिक गाडी जस्तै हो । एक प्रकारले सफा टेम्पो जस्तै सफा टेम्पोकै प्रिन्सिपलमा चल्छ । यसमा समानता भनेको मोटरले घुमाउने हो, मोटरले जसरी सफा टेम्पोलाई चलाउने काम गर्छ हाइड्रोजन गाडी पनि त्यसरी नै मोटरले सञ्चालन गर्ने हो । मोटर घुमाउन बिजुली चाहिन्छ, विद्युतीय गाडीमा बिजुली ब्याट्रीबाट दिइन्छ । ब्याट्रीको बिजुली भण्डारण क्षमता थोरै हुन्छ र ब्याट्रीको आफ्नै भार पनि हुन्छ । हलुका र छोटो दुरीका सवारी साधन जस्तै : ट्याक्सी, कार, मोटरसाइल र मिनिबस सम्मका सवारी साधन विद्युतीय इन्जिनबाट सञ्चालन गर्न सकिन्छ । तर, भारी सामानको ओसारपसार गर्ने डिजेलले सञ्चालन हुने सवारी साधन जसले निकै प्रदुषण पनि गर्छ र अत्याधिक धेरै उर्जा पनि खपत गर्छ ।

पेट्रोलियम गाडीलाई ब्याट्रीले विस्थापित गर्न सकिँदैन, निकै चुनौतीपूर्ण छ भन्ने देखिइसकेपछि विश्वभरी नै यसको विकल्पको रुपमा अध्ययन गर्दा हाइड्रोजन इन्जिनको विकास हुन पुगेको हो । यो विशेषगरी पेट्रोलियम गाडीको विकल्पको रुपमा विकास भएको हो । यो ब्याट्रीको विकल्प होइन, डिजेलको विकल्पको रुपमा हो । डिजेल इन्धनबाट सञ्चालन हुने पानीजहाज, हवाइजहाज र भारी सवारी साधन सञ्चालन गर्नको लागि डिजेल इन्धनको सट्टामा हाइड्रोजन इन्जिन हो ।

अहिले भर्खरै विश्वविद्यालयले दक्षिण कोरियाबाट एउटा हाइड्रोजन कार खरिद गरेर ल्याएको छ । सो गाडी खरिद गर्नुको उद्देश्य चाहिँ के हो ?

हामीले यो गाडी विशुद्ध अनुसन्धानको लागि ल्याएका हौं । नेपालमा भएको उर्जा भनेको हाइड्रोपावर हो र नेपालमा भएको उर्जाले नभएको उर्जालाई कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने अनुसन्धानमा हाइड्रोजन देखियो । नेपाल आयल निगमले कहिलेसम्म इन्धन आयात गर्ने र इन्धन बिक्री गर्ने संस्थाको रुपमा बस्ने, कुनैदिन यो पेट्रोलियम इन्धन पनि रहँदैन र इन्धन आयात गर्ने र वितरण गर्ने भूमिका पनि नेपाल आयल निगमको नहुन सक्छ । निगम बरु हाइड्रोजन इन्धन उत्पादन गर्ने र बिक्री तथा निर्यात गर्ने संस्थाको रूपमा विकास हुन सक्छ । हामी त्यसको लागि अनुसन्धानकाे काम गछौं । के–के गर्न सकिन्छ ? भनेपछि निगमले पनि हाम्रो भविष्य हाइड्रोजन हुन सक्छ भनेर निगमले विश्वविद्यालयलाई सहयोग गर्यो । सोही आधारमा हामीले हाइड्रोजन ल्याबको स्थापना गरेर विद्यार्थीहरुलाई कोरियामा बसेर अध्ययन गर्न लगाएर नेपाल ल्याएको हो ।

विश्वविद्यालयले हाइड्रोजन इन्जिनको विषयमा अहिलेसम्म गरेको अनुसन्धानमा कस्तो प्रगति गरेको छ ?

नेपालको परिप्रेक्ष्यमा काँचुली फेरेको पनि भन्न सकिन्छ । हामीले हाइड्रोजनको उपयोग यातायात संसाधनमा मात्रै होइन अन्य क्षेत्रमा पनि कहाँ हुन सक्छ भन्ने अध्ययन गरिरहेका छौं । नेपालमा वार्षिक रुपमा ४० अर्ब बराबरको कोइला बाल्छौं । हाइड्रोपावरले मागको चार प्रतिशत मात्रै उर्जा उपलब्ध गराएको छ भने कोइलाले ९ देखि १० प्रतिशत पूर्ति गर्ने अवस्थामा देश पुगिसक्यो । हाइड्रोपावरको खपत घट्दै जाने र कोइलाबाट उत्पादित उर्जा बढ्दै जाने हो भने हामीले उत्पादन गरेको बिजुली सबै खेर जाने र सस्तोमा बेच्नु पर्ने दिन आउँछ । त्यसैले, हामीले हाइड्रोपावरबाट निस्केको बिजुलीलाई हाइड्रोजन र वैकल्पिक इन्धन बनाएर इट्टाभट्टी र उद्योगहरुमा प्रयोग हुने कोइला र डिजेल लगायत जिवास्म इन्धनलाई विस्थापन गर्न हामीले धेरै ठूलो अनुसन्धान गर्यौं ।

अहिले हामीसँग हाइड्रोजनको नेपालमा उपयोग कसरी गर्न सकिन्छ भनेर अध्ययनरत पाँच जना पिएचडी गरेका हुनुहुन्छ । ६ जनाले मास्टरमा रिसर्च गरिरहनु भएको छ र ६ जना अन्य अनुसन्धानकर्मी हुनुहुन्छ । विभिन्न मुलुकहरुका विश्वविद्यालयहरुसँग हामीले सहकार्य गरेका छौं । नेपालमा राजनीतिक, कर्मचारी, व्यवसाय, पत्रकारिता र साधारण जनसमुदायमा पनि हाइड्रोजन के हो र यसले देशलाई कसरी समृद्धितर्फ लैजान सक्छ भनेर एउटा चर्चाको विषय बनेको छ । यो पनि एउटा सफलता हो भनेर भन्नुपर्छ ।

के डिजेल, पेट्रोल र विद्युतीय उर्जाको तुलनामा हाइड्रोजन इन्जिन निर्माण गर्ने काम जटिल हुन्छ ?

प्राविधिक रुपमा हाइड्रोजन पेट्रोल डिजेल भन्दा सुरक्षित हुन्छ । यो विषय वैज्ञानिक अनुसन्धानले देखाएको छ । पेट्रोल कार पल्टियो, पेट्रोल लिक भयो भने ३/४ घण्टासम्म त्यहीँ बस्छ, कतै आगोको झिल्का पायो भने आगो लाग्ने सम्भावना बढी हुन्छ । तर, हाइड्रोजन कारहरु पल्टियो वा बिग्रियो भने हाइड्रोजन ग्यासको स्वरुपमा हुन्छ, जसले गर्दा गाडी पल्टेको केही मिनेटमा नै उडेर हावामा पुग्छ । आगलागीको सम्भावना धेरै कम हुन्छ ।

हाइड्रोजन इन्जिन निर्माण गर्ने विषय पेट्रोलियम र विद्युतीय इन्जिनको तुलनामा सस्तो वा महँगो कस्तो हुन्छ ?

सस्तो र महँगोको विषय भनेको उत्पादनमा आधारित हुन्छ । ठूलो मात्रामा उत्पादन गर्दा सस्तो पर्न जान्छ । त्यसकारण हामीले त्यो कसरी बनाउँछौं, कहाँ बनाउँछौं र कति मात्रामा बनाउँछौं भन्ने विषयसँग सम्बन्धित हुन्छ । जुनसुकै इन्जिन बनाउन प्रयोग हुने कच्चा पदार्थ उस्तै प्रकारका हुन्छन् । प्रविधिको विकासले हाइड्रोजन इन्जिन बनाउने लागत पनि घट्दै गएको छ । बजारमा हाइड्रोजन सवारी साधनको माग बढ्यो भने लागत पनि स्वभाविक रुपमा घट्न जान्छ । पछिल्लो समय हाइड्रोजन गाडीको मूल्य महँगो हुनेभन्दा पनि सस्तो हुँदै गएको छ । केही समय अगाडि मात्रै भारतले ५५ लाख भारतीय रूपैयाँमा १५ टनको हाइड्रोजन ट्रक ल्याएको छ ।

हाइड्रोजन सवारी साधन सञ्चालनमा आउँदा अहिलेका इन्धन स्टेशनको संरचना पनि बदल्नु पर्छ नी ?

आजको अवस्थामा अरबियन मुलुकमा उत्पादन भएर कयाैं स्टेशन हुँदै नेपालसम्म पेट्रोलियम पदार्थ आइपुग्छ । तर, हाइड्रोजन बनाउने एउटा उपकरण हुन्छ । जसलाई काठमाडौं विश्वविद्यालयले बनाइसकेको छ । त्यसलाई एउटा स्टेशनमा लगेर पानी र बिजुली जोडिदिएपछि त्यसले हाइड्रोजन बनाएर ट्यांकमा कम्प्रेस गरेर राख्छ र आवश्यकतामा नोजलबाट हाल्ने हो । त्यसकारण अहिलेका चार्जिङ स्टेशनमा जसरी गाडीलाई राखेर चार्ज गरिन्छ त्यसैगरी नै हाइड्रोजन भर्ने हो । अहिले जहाँ–जहाँ डिजेल पेट्रोल र विद्युतीय चार्जिङ स्टेशन छन् त्यहीँ नै हाइड्रोजन भर्ने व्यवस्था गर्ने हो । एउटै स्टेशनमा सबै इन्धनको व्यवस्था पनि हुनसक्छ । बिजुली खेर जाने अवस्थामा रातभरी हाइड्रोजन निकालेर दिनभरी बेच्न पनि सकिन्छ । साथै सोलार प्यानल राखेर त्यसबाट निस्केको बिजुलीबाट हाइड्रोजन बनाएर पनि बेच्न सकिन्छ । यो विषयमा धेरै मोडेलहरु छन्, कुन ढंगले व्यवसाय गर्दा राम्रो हुन्छ सो तरिकाले गर्ने हो ।

पानीबाट कती हाइड्रोजन उत्पादन गर्न सकिन्छ र कति हाइड्रोजनले गाडी कति  दुरी हिँड्न सक्छ ?

एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न ९ किलोग्राम पानी चाहिन्छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न ४० देखि ५० युनिट बिजुली खर्च हुन्छ । अहिलेको बिजुलीको मूल्यमा अर्थात् १० रुपैयाँ प्रतियुनिट मूल्य राख्दा ५ सय रुपैयाँम एक केजी हाइड्रोजन उत्पादन गर्न सकिन्छ । अहिलेको अवस्थामा औसत हाइड्रोजन कार एक केजी हाइड्रोजनको सहायताले २ सय किलोमिटरसम्म गुड्न सक्छ । ५ सय रुपैयाँको बिजुलीले खेर जाने बिजुलीलाई प्रयोग गरेर कार्बनडाइअक्साइड उत्पादन नगरीकन र डलरमा इन्धन खरिद नगरिकन गाडीलाई २ सय किलोमिटर गुडाउन सकिन्छ ।

विश्वविद्यालयले अध्ययन गर्दै आएको छ, तर यसलाई कार्यान्वयन गर्ने काम मुख्य हो, यसका निमित्त के कस्तो पहल गर्नु भएको छ ?

हामीले यसको लागि धेरै पहल गरेका छौं । अहिलेसम्म सरकारको तीनवटा मन्त्रीस्तरीय निर्णय भएका छन् । नेपालको लागि हाइड्रोजन कस्तो हुनु पर्छ भन्ने नीति बनाउन कमिटि बन्यो । हामीले नै मस्यौदा बनाउने काम पायौं । अहिले त्यो मस्यौदा क्याबिनेटमा छ । नीति पास भएपछि नेपालमा पनि हाइड्रोजन सम्बन्धी नीति हुनेछ । आजको अवस्थामा हाइड्रोजन कार नेपालको कानूनले चिन्दैन । कानूनअनुसार हाइड्रोजन कारको लागि नम्बर प्लेट लिने अवस्था छैन । हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्नसक्ने र उत्पादन गरेर भण्डार गर्न सक्ने कानूनी व्यवस्था छैन । साथै हाइड्रोजन कारको व्यवसाय र आयात गर्ने सम्बन्धी भन्सार सम्बन्धी कुनै कानूनी व्यवस्था छैन । विश्वमा हाइड्रोजन सम्बन्धी ठूलो विकास भैसक्दा पनि नेपालको कानूनले हाइड्रोजनलाई चिन्न सकेको छैन । यसलाई चिनाउन हामीले निकै ठूला कोसिस गरिरहेका छौं । धेरै रिपोर्ट बनाएर सरकारका विभिन्न तहलाई बुझाएका छौं ।

तपाईंहरुले हाइड्रोजन इन्धन र इन्जिनको विषयमा अध्ययन गरिरहँदा के यो विषयमा निजी क्षेत्रका लगानीकर्ताहरुले व्यवसायिक हिसाबले चासो राख्ने गरेका छन् ?

राख्नुभएको छ । कानूनी र नीतिगत अभावको अवस्था छ । लगानी गर्नको लागि नीति र कानूनी व्यवस्था तयार हुनुपर्यो । प्रविधि तयार हुनुपर्यो, बजार तयार हुनुपर्यो । सबै कुरा तयार हुँदै गरेको छ र त्यसको लागि उहाँहरु पनि लाग्नुभएको छ । हामीले नेपालमा हाइड्रोजन सम्बन्धी व्यवसाय गर्नको लागि कुन–कुन परियोजना ठिक हुन सक्छ, कति लगानी लाग्न सक्छ, भन्ने कुराको अध्ययन गरेर रिपोर्ट तयार गरेर व्यवसायीको घरमा लगेर पनि हामीले दिएका छौं । हाम्रो ल्याबको वेबपेजमा नेपालको हाइड्रोजन सम्बन्धी १५ वटा परियोजना बनाएर यसरी लगानी गर्न सकिन्छ भनेर राखेका पनि छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.