उपत्यका बाहिरका ए लेभल बन्द हुँदै, ८१ वटा संस्थामा सीमित विदेशी शैक्षिक कार्यक्रम

  २०८० कार्तिक १७ गते १६:१७     विकासन्युज

काठमाडौं । कुनै बेला विद्यार्थीको अत्याधिक आकर्षण बनेको ए लेभल काठमाडौं उपत्यका बाहिरका शैक्षिक संस्थामा भने बन्द हुने अवस्था सिर्जना हुँदै गएको छ । काठमाडौं युनिभर्सिटीले शैक्षिक सत्र ०७५ मा अन्तिम भर्ना लिएर बन्द गरेको ए लेभल गण्डकी बोर्डिङ स्कुल पोखरामा पनि दुई वर्षदेखि विद्यार्थी अभावमा सञ्चालन हुन सकेको छैन ।

विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेज तथा स्कुलहरुले प्रत्येक महिनाको माघ महिनाभित्र संघीय शिक्षा मन्त्रालयमा संस्था नवीकरण गर्नुपर्ने हुन्छ । तर, विगतमा ८७ वटा शैक्षिक संस्थाले विदेशी कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसपटक भने ८२ वटामा मात्रै सिमित हुन पुगेको छ ।

मन्त्रालयका अनुसार ए लेभलको शैक्षिक कार्यक्रम नै बन्द गरेर काठमाडौं यु्निभर्सिटी स्कुल काभ्रेले कार्यक्रम नै बन्द गरेको छ । कस्मस इन्टरनेशनल कलेज पोखरा र कृतिका एजुकेसन एन्ड हेल्थ फाउन्डेसन प्रालि विराटनगरले नवीकरणका लागि निवेदन दिएपनि आवश्यक भौतिक पूर्वाधार तय गर्न नसकेको कारणले नवीकरण हुन सकेका छैनन् ।

द इन्स्टिच्युट सिभिल इन्जिनियर भारतबाट सम्बन्धन लिएर डिप्लोमा इन सिभिल इन्जिनियर कार्यक्रम सञ्चालन गरेको जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी प्रमाणपत्रमा समकक्षता प्राप्त गर्न नसक्दा अदालतमा विचाराधिन रहेको अवस्था छ ।

पढ्ने विद्यार्थी नै नआएपछि बन्द भए ए लेभल कार्यक्रम

गण्डकी स्कुलका पोखराका प्रिन्सिपल बिरेन्द्र खड्काका अनुसार सो स्कुलमा २ वर्षदेखि ए लेभल पढ्ने विद्यार्थी नै आवश्यक संख्यामा नआएपछि बन्द गर्नुपर्ने कार्यक्रम नै सञ्चालन हुन सकेन । ‘अघिल्लो वर्ष ६÷७ जना विद्यार्थी आएका थिए, यो वर्ष ३÷४ जना विद्यार्थी मात्रै आए’, उनले भने, ‘एक सेक्सनमा २८ जना विद्यार्थीको कोटा भएकोमा आवश्यक विद्यार्थी नै नआएपछि कार्यक्रम सञ्चालन हुन सकेन ।’

काठमाडौं युनिभर्सिटी स्कुल काभ्रेले ए लेभलको कार्यक्रममा ०७५ मा अन्तिम भर्ना लिएर कार्यक्रम नै बन्द गरेको छ । स्कुलका प्रिन्सिपल तेजेन्द्रप्रकाश राजभण्डारीले पहिले सो संकायमा विद्यार्थीको आकर्षण राम्रै भएपनि पछिल्लो समयमा नभएपछि कार्यक्रम बन्द गरिएको बताए । उनले उपत्यकाभित्र ए लेभल सञ्चालन गर्ने स्कुल कलेजहरुमा जनशक्तिको उपलब्धता जस्तो बाहिर नभएकोले पनि ए लेभल कार्यक्रम सञ्चालन गर्न कठिन भएको बताए ।

नेपाली विश्वविद्यालयले नै सञ्चालन गरेका अधिकांश कार्यक्रम विदेशी विश्वविद्यालयबाट

नेपालमा ८१ वटा शैक्षिक संस्थाले सञ्चालन गरेको अधिकांश विदेशी शैक्षिक कार्यक्रम नेपाली विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम रहेको देखिन्छ । चिकित्सा शिक्षा, इन्जिनियरिङ, आदि लगायतका पूर्ण प्राविधिक शैक्षिक कार्यक्रमलाई भने विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गर्न भने सरकारले अनुमति दिने गरेको छैन ।

तर, अन्य आइटी, मानविकी र व्यवस्थापनसँग सम्बन्धित कार्यक्रम भने नेपाली विश्वविद्यालयहरुले नै सञ्चालन गर्दै आएका कार्यक्रम विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपाली कलेजहरुले सञ्चालन गर्ने गरेका छन् । केही वर्षयता भने शिक्षा मन्त्रालयले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति नयाँ शैक्षिक संस्थालाई दिएको छैन । तर, स्वीकृतिको पहलका लागि मन्त्री फेरिएपिच्छे नीति परिवर्तनका लागि मन्त्रालयमा दबाब दिन आउने गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.