भारतले ल्यापटप र कम्प्युटर आयातमा अवरोध नगर्ने

  २०८० कार्तिक १५ गते १७:२५     विकासन्युज

एजेन्सी । भारत सरकारले ल्यापटप र कम्प्युटर आयातमा कुनै पनि किसिमको अवरोध नगर्ने स्पष्ट पारेकाे छ । सरकारले यस्ता वस्तुको आयात मात्रा र स्रोत ट्रर्याक गर्न संयन्त्र स्थापना गरिरहेको जानकारी दिएको छ ।

सम्भावित ल्यापटप आयात प्रतिबन्धबारे फैलिएका गलत सूचना सम्बोधन गर्न भारत सरकारका वाणिज्य सचिव सुनिल बर्थवालले विज्ञप्ति जारी गर्दै आयातमा प्रतिबन्ध नलगाएको बताएका छन् ।

‘ल्यापटपमा त्यस्तो कुनै प्रतिबन्ध नभएको स्पष्ट पार्न चाहन्छौं, ल्यापटप आयात गर्ने जो कोहीमाथि हामीले कडा निगरानी राख्नेछौं,’ वाणिज्य सचिव सुनिल बर्थवालले भने, ‘हाम्रो मुख्य काम नै आयातमा निगरानी राख्नु हो, यसको प्रतिबन्धसँग कुनै सरोकार छैन ।’

भारतले यसअघि अगस्टमा ल्यापटप, ट्याबलेट र कम्प्युटरजस्ता उत्पादन आयात गर्न नोभेम्बर १ बाट लाइसेन्स आवश्यक हुने घोषणा गरेको थियो ।

भारतका वैदेशिक व्यापार महानिर्देशक (डीजीएफटी) सन्तोषकुमार सारङ्गीले कात्तिक १ बाट लागू हुने गरी आयात व्यवस्थापन प्रणाली हुने बताएका छन् ।

सरकारले अगस्टमा ल्यापटप, कम्प्युटर, ट्याबलेट, माइक्रो कम्प्युटर, ठूला वा मेनफ्रेम कम्प्युटर र केही डाटा प्रोसेसिङ मेसिनमा स्वदेशी उत्पादन बढाउन र चीनजस्ता देशबाट आयात घटाउने उद्देश्यले आयात प्रतिबन्ध लगाएको थियो । यो सूचनापछि आइटी हार्डवेयर उद्योगले चिन्ता व्यक्त गरेको छ ।

भारतसँग पहिले नै स्टील, कोइला र कागजजस्ता केही उत्पादनको आयात निगरानी प्रणाली छ । सुरक्षाका आधारमा आयात गर्दा र यी उत्पादनहरूको स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न लाइसेन्स चाहिने सर्त राखेको थियो ।

थिंक–ट्याङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारत दैनिक प्रयोग हुने मोबाइल फोन, ल्यापटप, कम्पोनेन्ट, सौर्य ब्याट्री मोड्युल र एकीकृत सर्किटजस्ता औद्योगिक उत्पादनहरूका लागि पूर्णरूपमा चीनमा निर्भर छ ।

भारतले इलेक्ट्रोनिक सामानको स्वदेशी उत्पादन प्रवर्द्धन र प्रोत्साहन गर्न इलेक्ट्रोनिक कम्पोनेन्टहरूमा भन्सार महसुल बढाउनेजस्ता कदम चालेको छ ।

भारतले हरेक वर्ष करिब ७÷८ अर्ब अमेरिकी डलरका सामान आयात गर्छ । भारतले २०२१÷२२ मा ७ अर्ब ३७ करोड डलरको तुलनामा २०२२÷२३ मा ५ अर्ब ३३ करोड डलरको ल्यापटप लगायत व्यक्तिगत कम्प्युटर आयात गरेको छ ।

केही डाटा प्रोसेसिङ मेसिनको आयात गत आर्थिक वर्ष ५५ करोड ३० लाख डलरबराबर थियो भने २०२१÷२२ मा ५८ करोड ३० लाख डलरबराबर थियो ।

त्यसैगरी माइक्रो कम्प्युटर र प्रोसेसर आयात गत आर्थिक वर्ष १ करोड २२ लाख डलरको भएको थियो भने २०२१÷२२ मा २ करोड ८ लाख डलरबराबर थियो ।

गत मेमा भारतले १७ हजार करोड भारुको बजेट परिव्ययसाथ आइटी हार्डवेयरका लागि उत्पादन–लिंक प्रोत्साहन योजना २.० अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.