धेरैले सोध्छन्-इभी कस्तो छ ? म भन्छु-दामी छ

  २०८० कार्तिक ११ गते १४:५८     रामकृष्ण पौडेल

१८ महिना भयो मैले नेक्सन इभी ड्राइभ गर्न थालेको । बारम्बार धेरैले सोध्ने गरेका हुन्छन्, ‘इभी कस्तो छ ?’ सोध्नेलाई आफ्नो अनुभव सुनाउँदै आएको हुँ । नसोध्नेको लागि पनि आफ्नो अनुभव बाँड्न यो लेख लेख्दैछु ।

यहि दशैंमा सपरिवार धादिङको गजुरी जाँदा र फर्कर्दाको अनुभव पहिला सेयर गर्छु । त्यसपछि काठमाडौंको नियमित गुडाउदाको अनुभव सेयर गर्छु र अन्तिममा इभी किन्ने निणर्य लिँदाको अनुभव पनि लेख्दैछु ।

असोज ८ गते ११ बजेर ११ मिनेटमा घर (रामकोट)बाट गाडी निकालेको रहेछु । त्यतिबेला १४ हजार ६२० किलोमिटर गाडी गुडेको छ । ब्याट्री १०० प्रतिशत चार्ज छ । जम्मा ३१६ किलोमिटर गुड्न सक्छ भनेर गाडीले संकेत दिएको छ ।

कम्पनीले ३१२ किलोमिटर रेन्जको दाबी गर्दै आएको छ । रेगल सफ्टवेयर अपडेट भएर आएपछि रेगल लेबल ३ मा राख्दा ३१२ भन्दा केही बढी रेञ्ज देखाउँछ, अधिकतम ३२० सम्म देखिन्छ मेरो गाडीमा ।

यात्रा गर्नेहरुलाई थाहा छ कि नागढुंगा-नौविसे सडक खण्ड खत्तम छ । एकातिर धुलोले बाटो देखिदैन, अर्कोतिर खाल्टाखुल्डी अत्याधिक छ । यस्तो बाटोमा यात्रा गर्दा झ्याल खोल्न सकिदैन । एसी चलाउनै पर्यो । गाडीको गति सुस्त हुने नै भयो ।

रामकोटबाट गजुरी पुग्दा ६८ किलोमिटर यात्रा गरेछौं । १५ प्रतिशत व्याट्री खपत भएको देखियो । १५ प्रतिशत ब्याट्री खपत हुँदा ६८ किलोमिटर दुर पार हुनुको कारण अधिकांश क्षेत्रमा ओरालो बाटो भएकाले हो । ओरालो बाटोमा इभीको ब्याट्री चार्ज हुन्छ । रामकोटबाट थानकोट पुग्दा नै ८ प्रतिशत व्याट्री खपत भएको थियो ।

स्क्रीनमा देख्न सकिन्छ ८५ प्रतिशत व्याट्री बाँकी छ र अब २५४ किलोमिटर यात्रा गर्न सकिन्छ । यहाँनेर सचेत हुनुपर्ने विषय के छ भने यो रेञ्ज देखिएको पहिला गुडेको बाटोको अवस्थाको आधारमा हो ।

मलाई थाहा छ, काठमाडौं फर्कदा उकालो बाटो छ तर, यो गाडीले अबको बाटो उकालो छ वा ओरालो छ वा समथल छ, थाहा पाउँदैन । गाडीले पहिले गुडेको बाटोको आधारमा भविष्यप्रति संकेत गर्दछ । उकालोमा ब्याट्री खपत छिटो हुन्छ भन्ने विषयमा इभी चलाउनेले हेक्का राख्नैपर्छ ।

थानकोटको उकालो पार गरीसक्दा ब्याट्री ४१ प्रतिशतमा झर्यो । ५३ किलोमिटर यात्रा गर्दा ४७ प्रतिशत ब्याट्री खपत भएछ । गाडीले अब ९२ किलोमिटर मात्र यात्रा गर्न सक्ने जनाउ दिएको छ ।

थानकोटबाट गजुरी पुग्दा ७ प्रतिशत ब्याट्री घटेको थियो । फर्कदा सोही दुरीमा ४७ प्रतिशत ब्याट्री घट्यो । जाँदा पनि हामी ४ जना थियौं आउँदा पनि ४ जना । फर्कदा करिव ५० किलोग्राम कोसेली थपिएको थियो । जाँदा भन्दा फर्कदा केही बढी जाम थियो । घाम र जामले गाडी तातेपछि एसी चलाउनुको विकल्प भएन । धार्केबाट उकालो लाग्दासम्म ६५ प्रतिशत ब्याट्री भएकोले हामी ढुक्कसँग यात्रा गरिरहेका थियौँ ।

जुँगेखोलामा सिप्रदीको फाष्ट चार्जर छ । जुँगे खोलाबाट उभाेेलाग्दा ५० प्रतिशत भन्दा कम ब्याट्री छ भने चार्ज गरेर मात्र उभाे लाग्ने मेरो बानी छ । मेरो लागि नुवाकोटको विदुर र धादिङको गजुरी पटक-पटक गईरहने गन्तव्य हुन् ।

थानकोटबाट कलंकीसम्मको ९ किलोमिटर यात्रा गर्दा ब्याट्री ४१ प्रतिशतमा नै सीमित रह्यो । त्यस क्षेत्रमा मोटामोटी ओरालो बाटो भएकोले थप ब्याट्री खपत भएन । सितापाइला हुँदै रामकोट पुग्दा ब्याट्री ३७ प्रतिशतमा झर्यो । अब ८७ किलोमिटर यात्रा गर्न सकिने संकेत डिस्प्लेमा देखिएको छ ।


थप एक दिन गाडी चलाउन पुग्ने ब्याट्री संचित भएकोले ९ गते कार चार्जमा राखिन । १० गते अफिस पुग्दा १० किलोमिटर गुडाएछु । ब्याट्री ३५ प्रतिशतमा झरेको छ । डिस्प्लेमा अझै १०० किलोमिटर गुड्न सक्ने संकेत देख्न सकिन्छ । घर फर्कदा ११ किलोमिटर गुडेछ । ब्याट्री २८ प्रतिशतमा झरेको छ ।

१७० किमी यात्रा, हप्तामा एक पटक चार्ज

ब्याट्री ३० प्रतिशतको आसपासमा गएपछि चार्जमा जोड्नुपर्छ । ब्याट्री २५ प्रतिशतमा झरेपछि पहेँलो संकेत देखिन्छ । १५ प्रतिशतमा झरेपछि रातो देखिन्छ रे । तर १८ महिना गाडी चलाउँदा ब्याट्री १६ प्रतिशत भन्दा तल झर्न दिएको छैन ।

गाडी किनेदेखि अहिलेसम्म एक पटक परिक्षणको लागि र २ पटक आवश्यकताले फास्र्ट चार्जरमा लैजानु परेको छ । नत्र घरमा चार्ज गरेर नै हुन्छ । फास्र्ट चार्रजमा करिब एक घण्टामा ९५ प्रतिशत चार्ज हुन्छ भने घरमा १०० प्रतिशत चार्ज गर्न करिव ८ घण्टा लाग्छ । बेलुका कनेन्ट गर्दा विहान फुल चार्ज भईराखेको हुन्छ ।

मेरो घर रामकोटमा र अफिस बागबजारमा छ । घरअफिस ओहोरदोहोर गर्दा २० किलोमिटर दुरी पार गर्नुपर्छ । दैनिक औसतमा २९ किलोमिटर यात्रा गरिदो रहेछ । एक पटक फूल चार्ज गरेपछि एक सातालाई पुग्छ ।

कम्पनीले फुलचार्जमा ३१२ किलोमिटर गुड्छ भन्ने दाबी गरेको छ । तर कम्पनीले के पनि सुझाव दिन्छ भने ब्याट्री २५ प्रतिशत भएपछि चार्जमा जोड्नुपर्छ । भनेको व्याट्रीको ७५ प्रतिशत मात्र उपयोग गर्नु । यस अर्थमा कम्पनीको दाबी अनुसार नै नेक्सन इभी २३४ किलोमिटर गुड्छ भन्ने हो । यो रेञ्ज पनि एसी (कुलर-हिटर) नचलाउँदाको अवस्थामा पाइने हो । त्यो पनि सामान्य अवस्थाको सडकमा विना जाममा चलाउँदाको अवस्थामा पाइने हो ।

एसी एलर्जी हुनेहरुले कार चलाउँदा झ्याल खोलेको पाइन्छ । सामान्यतया कार चलाउने तर एसी नचलाउने मान्छे हुँदैन । एसी चलाउने वित्तिकै इभीको रेञ्ज पनि घट्छ । जामले गर्दा पनि तोकिएको रेञ्ज पाउन कठिन हुन्छ ।

मेरो अनुभवमा काठमाडौंमा ड्राइभ गर्दा, एसी चलाउँदा, जाम पार गर्दा फुल चार्जमा दिने रेञ्ज १७० किलोमिटर हो । दैनिक घर अफिस बुढानिलकण्ठ-त्रिपुरेश्वर ओहोर दोहोर गर्ने शंकर श्रेष्ठले १९० किलोमिटर रेञ्ज दिएको अनुभव पनि सुनाएका छन् मसँग । पशुपति मुरारकाले १६५ मात्र हो नेक्सनको बास्तविक रेञ्ज भनेर मलाई सुनाएका छन् । उनी प्रतिस्पर्धी एमजी मोटरको लागि नेपालमा आधिकारिक बिक्रेता पनि हुन् । अटो पत्रकार सागर गजुरेलले भारत र चीनमा बनेका इभी गाडीले दाबी गरेको भन्दा ३५ प्रतिशत कम रेञ्ज दिने टिप्पणी हालै फेसबुकमा गरेका थिए ।

इभीमा मात्र यो समस्या होइन, पेट्रोल र डिजेलबाट चल्ने गाडीमा पनि कम्पनीले दाबी गरेको भन्दा करिव ३५ प्रतिशत कम माइलेज पाइन्छ काठमाडौंमा । पहिला म बोल्ट चढ्थे । कम्पनीले माइलेज १७.५७ देखि २२.९५ किलोमिटर प्रतिलिटर दाबी गरेको छ । तर बास्तवमा ११ देखि १२ किलोमिटरभन्दा बढी माइलेज दिदैनथ्यो । हुण्डाइको क्रेटाको माइलेज १६.८ देखि २१.४ किलोमिटर प्रति लिटर दावी गर्छ । तर मेरो मित्र रेशम बगालेको अनुभवमा प्रतिलिटर ९/१० किलोमिटर मात्र क्रेटाको बास्तविक माइलेज हो काठमाडौंमा ।

कति फाइदा ?

फाइदाको कुरा गर्नु भन्दा अघि एउटा वास्तविक तथ्यमा जानुपर्छ । हिसाब गर्दै जाँदा खाको र लाएको पनि घाटा मान्ने मानिस पनि हुन्छन् समाजमा । काँठका बुढापाकाले भन्छन्-जग्गा किन्ने राजा बन्छ, गाडी किन्ने गधा बन्छ दीर्घकालमा । मान्छे अनुसार फरक विचार हुन्छ ।

मैले इभी किन्नुपूर्व पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको थियो । मासिक १५ हजार रुपैयाँ भन्दा बढी पेट्रोलमा खर्च हुन्थ्यो । इभीमा चार्जमा मासिक एक हजार भन्दा कम विल उठ्छ ।

पेट्रोलबाट चल्ने नेक्सन फुल अप्सन गाडीको मूल्य ५२ लाख ९९ हजार छ, इभी फुल अप्सनमा ४२ लाख ९९ हजार रुपैयाँ । पेट्रोल गाडी भन्दा इभी गाडी शुरुमै १० लाख कम पर्ने र मासिक खर्च पनि कम हुने भएकोले इभी सस्तो पर्ने देखिन्छ ।

ब्याट्रीको आयु र मूल्यबारे धेरै अड्कलबाजी हुने गरेको छ । रामेश्वर खनालले कियाको इभी लिएको ८ वर्ष भयो । ब्याट्रीको वारेन्टी ६ वर्ष थियो रे । अहिलेसम्म कुनै समस्या आएको छैन । सामान्यतया मोवाइलमा व्याट्रीको वारेन्टी एक वर्षकाे हुन्छ । धेरैले २ वर्षभन्दा बढी नै चलाएका हुन्छन् । मैले आईफोन चलाउन थालेको ४ वर्ष वित्यो तर, अहिलेसम्म ब्याट्रीमा समस्या देखिएको छैन ।

इभी किन्ने निर्णय 

२०७८ जेठ १५ गते संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी (इभी)मा न्यूनतम कर लाग्ने घोषणा गरे । समाचार बनाउँदै गर्दा मैले सोचेँ -‘अर्को वर्षको बजेट आउनुपूर्व मैले इभी किन्नुपर्छ ।’

मैले नयाँ कार किनेको ३ वर्ष मात्र भएको थियो । उक्त कारमा कुनै समस्या थिएन । तैपनि त्यसलाई बेचेर नयाँ कार किन्ने सोच बनाएँ ।

कारण एउटै थियो-सरकार यो कर नीतिमा टिक्न सक्दैन । अर्को वर्ष करका दर वृद्धि हुन्छ । यो नै उपयुक्त अवसर हो ।

मैले २०७८ कात्तिकमा नेक्सन इभी बुक गरे । २०७९ बैशाख ५ गते सिप्रदीले गाडी दियो । २०७९ जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दै गर्दा इभीमा करका दर बढाए ।

मैले ठिक समयमा गाडी किनेछु । ३९ लाख ९९ हजारमा किनेको नेक्सन इभी लक्सको मूल्य अहिले ४२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अरु ब्राण्डका गाडीमा त झनै धेरै मूल्य वृद्धि भएको छ ।

इभी नकिन्न सुझाव

सिप्रदीको शोरुममा कार्यरत अर्जुन उप्रेति पारिवारिक सम्बन्ध जोडिएका मित्र हुन् । उनले मलाई इभी नकिन्न नै सुझाव दिएका थिए । उनले दुईटा कारण सुझाए-पहिलो, पेट्रोल वा डिजेल गाडी पहिले नै भएका परिवारमा दोस्रो कारको रुपमा इभी किन्नेहरु बढी छन् । एउटा मात्र कार हुने परिवारले इभी किनेको कम मात्रामा पाइन्छ ।

दोस्रो-इभी नयाँ गाडी हो । भविष्यमा आउने समस्याबारे कसैले केही भन्न सक्दैन । डिजेल पेट्रोल गाडीको इतिहास ४०० वर्षभन्दा लामो छ । ढुक्कले चढ्न पाइन्छ ।

अर्जुन जस्तै इभीको भविष्यप्रति शंका व्यक्त गर्दै यस्तो गाडी नकिन्न सुझाव दिनेहरु धेरै थिए । तर, म पूर्व अर्थसचिव रामेश्वर खनालको अनुभव र सुझावबाट बढी प्रभावित भएको थिए । उनीसँग ७ वर्ष इभी चढेको अनुभव थियो । उनको पनि परिवारमा एउटा मात्र कार हो । काठमाडौं र काँठ क्षेत्रमा चलाउनको लागि इभी उत्कृष्ट गाडी भएको अनुभव सुनाएका थिए ।

पहिला पेट्रोल कार हुँदा साढे ३ वर्षको बीचमा म पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, कर्णालीका विभिन्न जिल्लामा पुगेँ । ती क्षेत्रमा यात्रा गर्दा मैले कि प्लेन चढेँ, कि बस । कर लिएर निस्केको लामो दुरीको यात्रा भनेको नुवाकोटको विदुर र धादिङको गजुरी मात्र रहेछ ।

आफ्नै अनुभव र रामेश्वर खनालको अनुभवका आधारमा म इभी नै लिने सोचमा पुगेको थिए । नेक्सन इभी भर्खरै नेपाल भित्रिएको थियो । बुक गरेको ६ महिनासम्म गाडी दिन नसक्ने अवस्थामा कम्पनी थियो । माग धेरै भएकोले मूल्य बढ्न सक्छ भन्ने आँकलन पनि थियो । गाडी लिन्न भन्दा बैना फिर्ता पनि सुविधा भएकोले २५ हजार तिरेर नेक्सन इभी बुक गरिहालेँ ।

पछि बजारमा अरु गाडीहरु बारेमा पनि बुझेँ । हुण्डाइको आयोनिक फाइव मलाई असाध्यै मन पर्यो । त्यतिबेला उक्त कारको मूल्य करिव ८४ लाख रुपैयाँ थियो । उक्त कार किन्न मेरो आर्थिक क्षमताले भ्याएन ।

सिप्रदीले गाडी लिन आउन कल गरेपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग डिस्काउन्टको माग गरेँ। नो डिस्काउन्टमा उनी अडिक रहे ।

पुरानो सम्बन्धमा रहेका र पहिलो बोल्ट किन्दा राम्रो छुट पनि दिएका सावजंग सिजापति कार डिपार्टमेन्ट हेड थिए । अन्तिम घडीमा उनीसँग भेट्न पुगेँ ।

उनले बढो मित्रवत व्यवहार देखाए ।

‘रामकृष्णजी तपाईको घर नुवाकोट होइन ?’ उनले थाहा पाएरै पनि सोधँ । ‘हो’-मैले भने ।

‘तपाई नेक्सन इभी नकिन्नुहोस् । नुवाकोट पुगेर काठमाडौं फर्कदै गर्दा नागढुंगाको उकालोमा ब्याट्री चार्ज स्वाटै घट्छ । तपाईलाई चाँडै एङ्जाईटी हुन सक्छ’ उनले थप सुझाए-‘गाडी शो रुमबाट ननिकाल्दासम्म गाडी कम्पनीकै हो । समस्या केही हुन्न । शो रुमबाट वाहिर निकाल्ने वित्तीकै गाडी अब सेकेण्डह्याण्ड भयो । ५/७ लाख रुपैयाँ मूल्य घटी हाल्छ ।’

मैले मेरो वास्तविकता पनि सुनाउँ । ‘मेरो गाउँको घरमा कार जाँदैन । बोल्ट हुँदा पनि मैले गाउँमा कार लगिन । दोस्रो, गाउँ जाने बाटो पीच भयो भने घर जान आउन ५० किलोमिटर पनि पर्दैन । तेस्रो म गाउँको घरमा वर्षमा १/२ पटक मात्र पुग्छु ।’

‘त्यसो भए ठिक छ, काठमाडौंको लागि यो गाडी पर्फेक्ट छ । तपाईको निणर्य सहि छ’ उनले भने । छुट चाँही एक रुपैयाँ पनि गरेनन् ।

चलाउन दामी

गियर विनाको इभी चलाउन सजिलो छ । नयाँ मोडलको इभीहरुमा ह्याण्ड ब्रेक पनि बटमबेसमा आएका छन् । गाडी भित्र आवाज शुन्य हुन्छ । वाहिर पनि गाडीको चाल बिरालोको जस्तो शान्त हुन्छ । फूल चार्जपछि गाडी चलाउँदा गाडीको स्पीड नर्मल भन्दा बढी हुँदोरहेछ । ब्याट्री ९७ प्रतिशतमा झरेपछि नर्मल हुन्छ । २५ प्रतिशतभन्दा तल झरेपछि गाडी स्र्पोट मोडमा जाँदैन । ७ जना मान्छे राखेर शान्ति धाम जाने उकालोमा गाडी लगेको, मजाले पार गर्यो । पेट्रोल/डिजेल गाडीमा जस्तो उकालो आएपछि एसी बन्द गर्नुपर्दैन ।

मेरो अनुभवमा इभी गाडी दामी छन् । अनलाइन खवरका सम्पादक शिव गाउँले पनि नेक्सन इभी चढ्दा रहेछन् । पेट्रोल गाडी भन्दा इभी धेरै राम्रो भएको अनुभव उनले सुनाएका थिए । पेट्रोल वा इभी जुन मन लाग्यो त्यहि गाडी चढ्ने छनौटको अवसर पाएका पशुपति मुरारकाको छोराले सधैं एमजी (इभी) नै रोज्ने गरेका छन् । उद्यमी मोतिलाल दुगड टेस्ला चढ्छन् । अरु गाडीमा आफ्नो मन जान छोडेको उनले सुनाए । फियट बेचेर विवाइडी चढ्न थालेको भाई ईश्वर थपलिया पनि इभी गाडी प्रति निकै रोमाञ्चित देखेको छु मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.