इजराइल हमास युद्धको असर विश्व अर्थव्यवस्थामा पर्ने संकेत

  २०८० कार्तिक ८ गते १६:५२     विकासन्युज

काठमाडौं । रुस युक्रेनबीच युद्ध भएको दुई वर्ष समय बित्न लागेको छ । रुस युक्रेनबीचमा भएको युद्धले विश्वकै उत्पादन र वितरण प्रणालीलाई नराम्रोसँग असर गर्न पुग्यो । जसले गर्दा खाद्यान्न र तेलजस्ता वस्तुहरुमा विश्वव्यापी रुपमा मूल्य वृद्धि हुन पुगेको छ ।

केही हप्ता अगाडि शुरु भएको इजराइल–प्यालेस्टाइन युद्धले फेरि विश्व अर्थव्यवस्थामा समस्या सिर्जना गर्ने अुनमान गरिएको छ । मानिसहरुले विश्वमा हुने ठूला घट्नाहरुको कारण विश्व अर्थव्यवस्था सम्बन्धी अनुमान गर्ने र नकारात्मक अवस्थामा खर्चमा कटौती गर्ने गर्छन् भन्ने विषय अनुसन्धानहरुले देखाएका छन् । जसले गर्दा अर्थव्यवस्थामा मन्दी सिर्जना हुनसक्छ ।

विश्व बैंकका अध्यक्ष अजय बंगाले मंगलबार इजलाइल–प्यालेस्टाइन युद्धले विश्वव्यापी अर्थव्यवस्थामा गम्भीर असर पुर्याउने टिप्पणी गरेका छन् । साउदी अरबमा एक लगानीकर्ताहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । उनले भू–राजनीतिक तनाव विश्वको अर्थव्यवस्थाको लागि सबैभन्दा ठूलो खतरा रहेको भन्दै इजराइल–प्यालेस्टाइन बीचमा भएको लडाईंंलाई भू–राजनीतिक भएको टिप्पणी गरेका छन् ।

मंगलबारसम्मको अवस्थामा विश्वभरीकै शेयरबजारमा गिरावट आएको अवस्था छ । कोरोना महामारीबाट तर्सिएको विश्व व्यवस्था रुस–युक्रेन युद्धका कारण थप पिडामा फसेको थियो । फेरि शुरु भएको इजरायल–प्यालेस्टाइन युद्धलाई लिएर पनि विश्वभरका लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् ।

कोरोना महामारी र रुस युक्रेन युद्धले विश्वव्यापी रुपमा हुने अन्तरनिर्भरता र जोखिमपूर्ण स्थितिमा सामना गर्न राज्यहरुको तयारीको विषयलाई पाठ सिकाएको थियो । जसलाई विश्वका कति मुलुकले कार्यान्वयन गर्ने प्रयास गरे कतिले गरेनन् । तर, नेपाल जस्ता तेस्रो मुलुकहरु आन्तरिक राजनीतिक एकतामा नै नभएकाले कुनैपनि प्रकारको जोखिम बहनको स्थितिमा देखिँदैनन् । जसले गर्दा विश्वका तेस्रो मुलुकहरुले समस्या आइपरेपछि त्यसालाई बोक्नुको अर्को विकल्प देखिँदैन ।

देशभित्र हुने आन्तरिक र अन्रराज्यस्तरीय द्वन्द्वले सामान्यतया स्टक मार्केट, विनिमय दर र वस्तु तथा सेवाहरुको मूल्यमा असर पार्छ । तर, लामो समयसम्मको प्रभावको विषयमा आंकलन गर्न भने गाह्रो हुन्छ । किनकी प्रभाव पश्चात विश्वव्यापी रुपमा राज्यहरु र लगानीकर्ताहरुले लिने नीति समान नहुन सक्छ ।

अहिले मध्यपूर्वमा भइरहेको द्वन्द्वले पेट्रोलियम पदार्थको उत्पादन र वितरण प्रणालीमा समस्या निम्त्याउन सक्छ । सन् १९७३–७४ को ओपेक तेल प्रतिबन्ध, १९७८–७९ को इरानी क्रान्ति, १९८० मा शुरु भएको इरान–इराक युद्ध र १९९० को पहिलो पर्सियन गल्फ युद्धको अवस्थालाई हेर्यौं भने त्यस्तो अनुमान गर्न सकिने अवस्था आएको छ ।

मध्यपूर्व क्षेत्रले पेट्रोलियम पदार्थको विश्वव्यापी मागको एक तिहाइ भाग ओगट्छ । सो क्षेत्रमा भएको अनिश्चितताले बजारलाई स्वभाविक रुपमा प्रभाव पार्ने विश्लेषकहरुको अनुमान रहेको छ ।

अहिले भइरहेको इजरायल–प्यालेस्टाइन द्वन्द्वमा अन्य कुन मुलुकहरुको कस्तो प्रत्यक्ष एवं अप्रत्यक्ष संलग्नता रहन्छ भन्ने विषयले विश्वमा महत्वपूर्ण अर्थ राख्छ । अहिलेसम्मको अवस्थामा अमेरिका र ब्रिटिसले प्रत्यक्ष रुपमा इजरायलाई साथ दिने बताइसकेका छन् । तर, प्यालेस्टाइनको पक्षमा भने कुनै पनि देशले खुलेर प्रत्यक्ष समर्थन गरेको देखिँदैन ।

यदि अहिले भइरहेको द्वन्द्वमा साउदी अरब र इरान जस्ता प्रमुख तेल उत्पादक राष्ट्रहरु पनि जोडिन पुगे भने विश्वव्यापी अर्थतन्त्रले ठूलो समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुन पुग्यो भने विश्वव्यापी रुपमा नै उत्पादन र वितरण प्रणालीमा भिमकाय समस्याको शुरुवात हुनपुग्छ ।

इतिहासलाई हेर्दा सन् २०१४ मा भएको इजरायल–हमासबीचमा भएको ५० दिन लामो युद्धले विश्व अर्थव्यवस्थामा खासै प्रभाव पार्न सकेको थिएन । जुन युद्धमा २२ सय नागरिकहरु मारिएका थिए । यद्यपी सन् २००६ मा लेबनानमा इजरायल र हिजबुल्लाहबीच भएको झडपको कारणले विश्वव्यापी तेलको मूल्यमा वृद्धि भएको थियो ।

पछिल्लो समयमा विश्व बहुध्रुवीयतर्फ गइरहेको छ । इजरायल–प्यालेस्टाइन युद्धको विषयलाई लिएर अधिकांश पश्चिमा राष्ट्रहरुले इजरायलको पक्षमा समर्थन जनाएका छन् भने रुस र चीन जस्ता अरु ठूला मुलुकहरुले युद्धबिरामको विषयलाई प्राथमिकता दिएका छन् । सो युद्धमा शक्तिशाली मुलुकहरुको सहभागितामा वृद्धि हुँदै गयो भने गम्भीर परिदृष्यको अनुमान गर्न सकिन्छ । अन्यथा दुई मुलुकमा बाहेक अन्यत्र कम असर पर्न सक्छ । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.