धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैनः मन्त्री भुसाल

  २०८० असोज २५ गते १४:५४     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले पनि करिब १३ लाख मेट्रिक्टन धान, करिब ४ लाख मेट्रिक्टन गहुँ अपुग रहेको बताउँदै उनले मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताए । उनले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको उनको भनाई थियो ।

‘हाम्रो देशमा हामीले हाम्रो खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ ? कसरी हुने ? त्यसमा केन्द्रित हुनुपर्छ । अहिले पनि हाम्रा मुख्य बाली, धान, गहुँ र मकैलाई हामीले विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौं,’ उनले भने ।

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताए । उनले यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुरुपको काम गर्न सकिने भनाई राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.