प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोड बराबरको बजेट

  २०८० भदौ २१ गते १५:३२     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार बसेको क्यान बोर्ड सञ्चालकको बैठकले चालू आर्थिक वर्षको बजेट पास गरेको हो ।

बोर्ड सञ्चालक समितिले पास गरेको बजेट गत आर्थिक वर्षभन्दा कम हो । प्राधिकरणले गत आर्थिक वर्ष ४१ अर्ब ६५ करोड बराबरको बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस वर्षको बजेट ५ अर्ब १९ करोडले घटेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माण सम्पन्न भएकाले बजेट घटेको बताए । ‘अघिल्लो वर्ष भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा थिए, अहिले दुई विमानस्थल निर्माण सम्पन्न भएकाले बजेट घटेको हो’, उनले भने ।

प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ । यस्तै, प्राधिकरणसँग बैंकमा मौज्दात रहेको ६ अर्ब ६४ करोड, सरकारबाट पाउनु पर्ने मूल्य अभिबृद्धि करवापत् २ अर्ब ३४ करोड र साउन १ को पेश्कीबापतको मौज्दात ४ अर्ब ८५ करोड रुपैयाँ गरी ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ चालु वर्षको स्रोत भनेको छ ।

यस्तै, प्राधिकरणले पुँजीगत खर्च तर्फ १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी सम्बन्धी खर्चमा २ अर्ब ११ करोड ७१ लाख, कर्मचारी अवकाश भुक्तानीमा ५३ करोड ३० लाख र अन्य कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब ३४ करोड ७१ लाख गरी २६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ ।

मुअक कर भुक्तानीमा ८२ करोड १८ लाख, कर्मचारी अवकाश कोष तथा अन्य भुक्तानीका लागि २० करोड ३० लाख, नेपाल सरकारलाई लाभाशं भुक्तानीमा २९ करोड ९२ लाख, नेपाल सरकारको ऋणको साँवा २ अर्ब ९३ करोड ६७ लाख, सरकारको ऋणकोे व्याज भुक्तानीमा १ अर्ब ७१ करोड, कर्मचारीलाई बोनसवापत ५ करोड ८९ लाख वितरण गर्ने उल्लेख छ ।

वायुयान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड गरी ३६ अर्ब ६६ करोड २ लाख उपयोग (व्यय) तर्फ विनियोजन गरेको छ ।

प्रवक्ता निरौलाले बजेटका उद्देश्यहरु नागरिक उडड्यनको विकास तथा विस्थार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने रहेको जानकारी दिए ।

यस्तै, अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुमा थप पूर्वाधारको विकास, विस्तार तथा स्तरोन्तति गर्ने, आय वृद्धि तथा वित्तीय अनुशासन कायम गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने तथा मानव संशाधनको विकास गर्ने मुख्य उद्देश्य रहेको जनाईएको छ ।

प्राधिकरणले उडड्यन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन, अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य, यात्रु सेवा सुविधामा अभिवृद्धि, आयवृद्धि तथा आर्थिक अनुशासन र मानव संशाधन विकास मुख्य लाई बजेटमा प्राथमिकतामा राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.