हिमालयन बैंकबाट बाहिरिने हबिबसँग राष्ट्र बैंकले राख्यो सर्त, शतप्रतिशत सेयर बेच्ने तयारी

  २०८० भदौ १९ गते १९:०५     सन्तोष रोकाया

काठमाडौं । विगत तीन/चार वर्षदेखि हिमालयन बैंकबाट बाहिरिने तयारी गरिरहेको संस्थापक सेयरधनी हबिब बैंक अन्नतः जसरी पनि सेयर बेचेर बाहिरिने निर्णयमा पुगेको छ । यसअघि हिमालयन बैंकले अन्य बैंकसँग गरेको मर्जर सम्झौता र राष्ट्र बैंकको नियामकीय प्रावधानका कारण सेयर बिक्री गर्न नसकेको हबिब बैंकले मर्जर पश्चात् सेयर बिक्री गरेर बाहिरिने तीव्र तयारी गरिरहेको हो ।

हिमालयन बैंकको ठूलो सेयर लगानीकर्ता पाकिस्तानको हबिब बैंक मर्जर प्रक्रियापछि शतप्रतिशत संस्थापक सेयर बिक्री गरेर बाहिरिनका लागि अनौपचारिक तयारी गरिरहेको हिमालयन बैंकका एक सञ्चालकले बताए । ती सञ्चालका अनुसार अहिले हबिब बैंकले जसरी पनि नेपालबाट बाहिरिने रणनीति बनाएर काम गरिरहेको छ ।

‘हबिब बैंक पहिलेदेखि नै आफ्नो सेयर बिक्री गरेर बाहिरिने योजनामा थियो, तर बिचमा लामो समय मर्जरकै झन्झट भयो, त्यो बीचमा मर्जरमा गएका बैंकलाई राष्ट्र बैंकले २५ प्रतिशत छुट दिने भनेपछि सो छुट पाउने आशामा सेयर बिक्री गरेन, अहिले पुनः सेयर बिक्रीका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसँग छलफल गरिरहेको छ,’ ती सञ्चालकले विकासन्युजसँग भने ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर छ । त्यो सबै सेयर बिक्री गरेर बाहिरिने योजनामा हबिब छ । स्रोतका अनुसार विभिन्न संस्था तथा व्यक्तिसँग छलफल गर्दा सेयर मूल्यको विषयमा भने कुरा मिल्न सकेको छैन ।

‘तीन÷चार वर्षअघि बाहिरिन खोज्दा हबिबले राम्रै मूल्य पाउन सक्थ्यो, प्रस्ताव पनि धेरै बढी थियो, तर अहिले सेयर बजार घटिरहेको छ, लगानीकर्ताहरु पनि खरिद गर्न खासै इच्छुक देखिँदैनन्, अहिले मूल्य पहिलेको तुलनामा केही घट्न सक्छ, तर धेरै व्यक्ति तथा संस्थाहरुसँग कुरा गर्दा सेयर मूल्यको कुरा मिल्न नसकेको सुनिएको छ,’ स्रोतले भन्यो, ‘तर जसरी भएपनि नेपालमा भएको आफ्नो सेयर बिक्री गरेर बाहिरिने रणनीतिमा हबिब छ ।’

पाकिस्तानको हबिब बैंकको नेपालसहित अन्य धेरै देशको बैंकमा लगानी छ । अन्य चार÷पाँच वटा देशबाट बाहिरिसकेको छ । हबिबले यो बिचमा ओमन र अफगानस्तान लगायत बैंकबाट बाहिरिसकेको छ । हबिबको आफ्नो पाँच वटा क्राइटेरिया नपुगेको बैंकबाट धमाधम बाहिरिने निर्णय गरेको स्रोतको दावी छ । त्यसमध्ये नेपाल पनि पर्छ ।

बिक्री अनुमतिमा राष्ट्र बैंकको सर्त

आफ्नो नाममा रहेको शतप्रतिशत सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको हबिबसँग नियामक नेपाल राष्ट्र बैंकसँग पनि पटक–पटक छलफल गरिसकेको छ । औपचारिक रुपमा सेयर बिक्रीको सूचना सार्वजनिक गर्नु अगावै हबिबले यो बिचमा धेरै पटक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहिको समूह र नेपाल धितोपत्र बोर्डको नेतृत्वलाई पनि भेटिसकेको छ । तर, राष्ट्र बैंकले भने सेयर बिक्रीको लागि अनुमति नदिने विषय राखिरहेको स्रोतको दावी छ ।

हबिबबाट प्रतिनिधित्व गरेका हिमालयन बैंकका सञ्चालक फैसल लालनी ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई गाभिसकेपछि पनि धेरै पटक हबिब बैंक र नेपाल राष्ट्र बैंकबीच छलफल भइसकेको छ । तर, गभर्नर अधिकारीले सेयर बिक्री नगर्न अनुरोध गरिरहेका छन् । उनले विदेशी बैंकको अभ्यास नेपाली बैंकमा अहिले पनि आवश्यक भएकोले सेयर बिक्री नगर्न हबिबलाई अनुरोध गरिरहेको बुझिएको हो । गभर्नर अधिकारीले नबिल बैंकको संस्थापक सेयरधनी बंगालीलाई पनि सेयर बिक्री नगर्न अनुरोध गरिरहेका छन् । बंगालीले सेयर बिक्रीको प्रस्ताव राष्ट्र बैंक समक्ष औपचारिक रुपमा राखिसके पनि राष्ट्र बैंकले अनुमति दिएको छैन ।

‘यो बिचमा हबिबसँग धेरै पटक छलफल भइसकेको छ, उसले जसरी भएपनि आफु नेपालबाट बाहिरिने कुरा गरिरहेको छ, तर हामीले मानिरहेका छैनौं, त्यसैले पनि उसले अहिले नै सेयर बिक्रीको सूचना निकाल्न सकिरहेको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

राष्ट्र बैंकले सेयर बिक्री नै गर्ने भए अन्तर्राष्ट्रिय खरिदकर्ता ल्याउनु पर्ने सर्त राखेको बुझिएको छ । त्यहाँको केन्द्रिय बैंकले नियमन गरिरहेको संस्थालाई नै खरिदकर्ताका रुपमा प्रस्ताव गरे मात्रै सेयर बिक्रीको अनुमति दिने शर्त राष्ट्र बैंकले हबिब समक्ष राखेको छ । त्यसका लागि पनि हबिबले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग छलफल गरिरहेको स्रोतको भनाइ छ ।

अहिले हबिब बैंकबाट प्रतिनिधित्व गरेर हिमालयन बैंकको सञ्चालकका रुपमा कार्यरत फैसल एन लालनीसहितको समूह नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डसँगको तीव्र छलफलमा छन् । छिट्टै नै यो विषयको टुङ्गो लाग्ने हिमालयन बैंक स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.