यही बर्ष धनुषाको खजुरीमा रेल म्यूजियम बनाउँछाैं : मन्त्री ज्वाला

  २०८० भदौ ८ गते १६:१४     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्यूजियम बनाउने भएको छ ।

वि.स १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

‘जनकनन्दनीको खजुरीमा अहिलेपनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन् । ति रेलहरु राखेर म्यूजियम बनाउने तयारी छौ’ मन्त्री ज्वालाले भने ‘१० कठ्ठा क्षेत्रफलभित्र म्यूजियम बन्दैछ ।’ यसै बर्ष काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिएका छन् ।

केही समयअघि मन्त्री ज्वालाले म्यूजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गरेका थिए । छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए ।

ब्रिटिश इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ । गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ ।

मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ । रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.