प्रतिकूल मौसमले आन्तरिक हवाई उडानमा समस्या, अन्तर्राष्ट्रिय नियमित सञ्चालन

  २०८० भदौ ६ गते १६:४९     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा-नेपालगञ्जको सबै उडान रद्द गरिएको छ ।

काठमाडौं-पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुनः उडान सञ्चालन गरिएको उनको भनाइ थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.