‘राजस्व सङ्कलन गर्न अनावश्यक कर बढाउने होइन, आवश्यक क्षेत्र पहिचान गर्नु पर्छ’

  २०८० साउन २९ गते ७:४९     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाले गरेको कर वृद्धि फिर्ता लिन माग गरेको छ । कांग्रेस कास्की जिल्ला कार्यसमितिका सभापति किशोरदत्त बराल र पोखरा महानगरपालिका कार्यसमिति सभापति सुरेन्द्रमान बिजुक्छेले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै औचित्यविना कर वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

महानगरपालिकाको ध्यान जनताको हित र समृद्धिसँग जोडिनुपर्ने भए पनि त्यसको विपरीत कर बढाएर धेरै राजस्व उठाउने कुरामा मात्रै केन्द्रित भएको कांग्रेसले जनाएको छ ।

“राजस्व सङ्कलन गर्नका लागि अनावश्यकरूपमा कर बढाउने होइन, आवश्यक क्षेत्रको पहिचान गरी करको दायरा बढाउने हो । यसतर्फ पोखरा महानगरपालिकाको ध्यान पुग्न सकोस्”, विज्ञप्तिमा उल्लेख छ ।

कर वृद्धि कुन अध्ययन र अनुसन्धानका आधारमा गरिएको भन्दै विज्ञप्तिमा भनिएको छ, “यसबाट उठेको रकम जनताको कुनकुन हकहित र सुरक्षाका निम्ति खर्च गरिने हो ? जनताको हितका निम्ति के काम गर्नका लागि कति रकम नपुग भएका कारण कर बढाउनुपर्ने भएको हो ? भन्नेजस्ता विषय माथि व्यापक छलफल र बहस नगरी गरिएको कर वृद्धिको औचित्य पुष्टि हुन सकेको छैन ।”

विज्ञप्तिमा औचित्यविना वृद्धि गरिएको घर बहाल, व्यवसाय, सम्पत्ति र भूमि करलगायतका क्षेत्रमा भएको कर वृद्धि तुरुन्तै फिर्ता लिन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.