आईएमई ग्रुपले छाड्यो नेपाल इन्स्योरेन्स, एशियन लाइफले किन्यो साढे ५८ करोडको सेयर

  २०८० साउन २८ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् ।

आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । स्रोतका अनुसार उक्त सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको छ ।

आईएमई समूहले प्रतिकित्ता न्युनतम ३२५ रुपैयाँ मूल्य राखी बढाबढ मूल्यमा सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३६६ रुपैयाँमा टेण्डर पारेको हो ।

५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । सनी सेक्युरिटीजमार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट सेयर किनिएको छ ।

उक्त सेयर आईतबार नेप्सेमा कारोबार भएको हो ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सेयर क्रसहोल्डिङ हटाउन दवाब दिँदै आएको थियो । सोही क्रममा आईएमई समूहले प्रवर्द्धन गरेको आईजीआई र नेपाल इन्स्योरेन्सबीच मर्जरको प्रयास पनि भएको थियो ।

अन्तिममा आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि आईएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.