९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया

  २०८० साउन २४ गते १५:३८     विकासन्युज

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यक्रिया सफल भएको छ ।

गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको शल्यक्रिया गरिएको हो ।

उक्त शल्यक्रिया सम्पन्न गर्न डाक्टरहरुको टीमलाई ९ घण्टा लागेको अस्पतालले बताएको छ ।

म्याग्दी जिल्लाको बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी पुगेको थियो । उनलाई २० वर्ष अघि नै हात्तीपाइले रोगको समस्या देखिएको थियो । प्रा.डा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया गरिएको बताए ।

डा.श्रेष्ठले भने, ‘जो बिरामी हुन उनी ३५ वर्षका छन् । उहाँमा हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै शुरुवात भएको रहेछ । उनलाई हिँड्न धेरै मुस्किल थियो । प्लास्टिक सर्जरी विधिबाट हात्तीपाइलेको निकालिएको छ । विरामीको खुट्टा पनि निकाल्नुपर्ने अवस्था थियो । प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने गरी अप्रेसन भएको छ ।’

खुट्टाका नशाहरु ठूला भएकाले छुने बित्तिकै रगत निस्किने हुँदा अप्रेसन जटिल भएको डा. श्रेष्ठले बताए ।
उनले भने, ‘हामीले यसलाई सफल अप्रेसनका रुपमा लिएका छौं । एउटा खुट्टाको हात्तिपाइले निकाल्यौं । त्यसको वजन ४८ केजीको भएको देखिएको छ ।’

डा. श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा. समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका थिए ।
अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र आजै अस्पतालबाट डिश्चार्ज गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.