तत्काल माग पूरा नभए निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

  २०८० साउन १९ गते १५:०२     विकासन्युज

फाइल तस्वीर

काठमाडौं । निर्माण व्यवसायीहरुले महासंघले उठाएको माग पूरा नभए देशभरको निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।

शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् ।

कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर विकास निर्माणको कामलाई गति दिन भनेका छन् ।

उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरु सरकारबाट नै ठगिइरहेको बताए । सरकारको काम निर्माण व्यवसायीहरुले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने उनको भनाई छ ।

निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा भएर प्रदर्शन गर्नुपर्ने अवस्था बनाउन नहुने लामिछानेले बताए ।

महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरुलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे ।

सरकारले निर्माण व्यवसायीका मागहरु अन्देखा गरिरहेको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए ।

महासंघका अर्का पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरुका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए । आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने शर्माले बताए ।

देशभर रोलर, एक्सभेटरहरु सडकमा निकालेर बिरोधमा उत्रिने अवस्था सिर्जना नगर्न उनले चेतावनी दिए ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गनुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । ।

असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि सोअनुसार कार्यान्वयन गर्न नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.