५५ वर्षदेखि बैंकिङ सम्हालेका नारायणदास मानन्धरले लिए विश्राम

  २०८० साउन १७ गते १२:५३     विकासन्युज

काठमाडौं । तपाईं सोच्न सक्नुहुन्छ, एउटा व्यक्ति ५५ वर्षसम्म नियमित रूपमा सोही पेशामा सक्रिय रहन सक्छ ? ५५ वर्षको उमेरमै बुढो भएँ, काम गर्न सकिँदैन भन्ने बानी हामी सबैलाई परिसकेको छ । तर, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले ५५ वर्षसम्म बैंकमा काम गरेर ८० वर्षको उमेरमा बैंकिङबाट बिदा भए ।

प्राइम कमर्सियल बैंकमा उनको कार्यकाल साउन १६ गतेदेखि सकिएपछि उनी बैंकबाट विदा भएका हुन् । सो बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा रहेका मानन्धरले यो बैंकमा १६ वर्ष काम गरे ।

बिक्रम सम्बत् २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका मानन्धर ८० वर्षको उमेरसम्म सक्रिय बने । तर, अब उनी बैंकबाट बाहिरिएका छन् ।

उसो त उनले भन्ने गर्थे, ‘अब उमेर भइसक्यो, विश्राम लिने मन छ ।’ तर, उनको कार्यशैली र टीम परिचालनको कुशुलताले सञ्चालकले बैंकबाट बाहिरिन दिएन । उनी बैंकमा काम गरिरहन बाध्य भए । त्यसमै उनी रमाए पनि ।

कृषि विकासको स्थापनादेखि काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक, लुुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसम्म समेत पुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा काम गरिरहेका थिए ।

नेपालमा समस्याग्रस्त बैंकहरुको सुधार गर्ने व्यक्तिको छबि बनाइसकेका मानन्धरले वि.स २०६१ सालमा राष्ट्रिय बाणिज्य बैंकबाट अवकाश लिएका थिए ।

जागिरे जिन्दगीको ५५ वर्ष बैंक तथा वित्तीय संस्थामा बिताएका उनले सुरुमा भूमिसुधार तथा बचत सहकारी संस्थामा काम गरे । त्यो सहकारी संस्था कृषि विकास बैंकमा गाभिएपछि उनी पनि कृषि विकास बैंकमा आवद्ध भए । त्यसपछि उनी राष्ट्रिय वाणिज्य बैंक हुँदै प्राइममा प्रवेश गरेका थिए ।

योग्यता, क्षमता, सीप र अनुभवका भण्डार मानन्धरलाई ठूलो युवा जमातले पछ्याउन योग्य र अनुकरणीय छ ।

One comment on "५५ वर्षदेखि बैंकिङ सम्हालेका नारायणदास मानन्धरले लिए विश्राम"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.